काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्म १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले उक्त अवधिसम्ममा करिब साढे १० अर्ब प्रिमियम संकलन गरेका हुन् ।जसमा १४ वटा निर्जीवन बीमा कम्पनीले १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ र साथै दुई निर्जीवन लघु बीमा कम्पनीले ९१ लाख ८९ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

१४ वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्म संकलन गरेको यो प्रिमियम गत आर्थिक वर्षको तुलनामा ३९ करोड ७९ लाख रुपैयाँ अर्थात् ३.६६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका कम्पनीहरुले यस अवधिसम्म जम्मा १० अर्ब ४४ करोड बीमा शुल्क संकलन गरेका हुन् । 

असोज मसान्तसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै निर्जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ प्रिमियम भित्र्याएको छ । 

साथै नम्बर वानको ताज पहिरिदै आइरहेको शिखर इन्स्योरेन्सले सो अवधिसम्ममा १ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।तथ्यांकअनुसार ३ ओटा निर्जीवन बीमा कम्पनी मात्रै प्रिमियम कलेक्सनमा अर्ब क्लबमा रहेका छन् । 

यसैगरी, गत आर्थिक वर्षको तुलनामा ६ वटा कम्पनीको व्यापारमा संकुचन आएको छ भने बाँकी ८ वटा कम्पनीको व्यवसायमा भने सुधार देखिएको छ ।

बृद्धिदरको आधारमा सबै भन्दा व्यापार बृद्धि गर्ने कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको तुलनामा आफ्नो बिजनेस ३७.०३ प्रतिशतले बढाएको छ ।

-स्रोत नेपाल बीमा प्राधिकरण