काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट मात्रै ७ अर्ब ५ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् । 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा बागमती प्रदेशबाट मात्रै ७ अर्ब रुपैयाँ प्रिमियम कलेक्सन भएको छ । 

प्राधिकरणले विभिन्न प्रदेशका जिल्ला तथा स्थानीय तहहरुमा बीमा सचेतना तथा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु गर्दै आइरहेको छ । बीमाको दायरा अन्य प्रदेश तथा जिल्लाहरुमा समेत बढाउन प्राधिकरणले जमर्को गर्दै आइरहेको छ ।

तर तथ्यांकअनुसार भने निर्जीवन बीमा कम्पनीको व्यवसाय केवल बागमती प्रदेशमा नै निर्भर रहेको देखिन्छ । यसले अन्य तहहरुमा निर्जीवन बीमाको पहुँच अझै पुग्न नसकेको देखाएको छ ।

बागमती प्रदेशबाट मात्रै ७ अर्ब रुपैयाँभन्दा बढी व्यवसाय भित्रिंंदा सोही प्रदेशमा बीमालेखको संख्या कुल ३ लाख २६ हजार ७२ रहेको छ । त्यस्तै, दोस्रोमा लुम्बिनी प्रदेशबाट ९२ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । लुम्बिनी प्रदेशमा कुल बीमालेख संख्या १ लाख ५ हजार ६०९ रहेको छ । 

साथै कोशी प्रदेशबाट ८७ करोड ७४ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ भने उक्त प्रदेशमा बीमालेखको संख्या ८१ हजार ८७७ रहेको छ । त्यस्तै, मधेश प्रदेशबाट ६८ करोड ६३ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ भने उक्त प्रदेशमा कुल निर्जीवन बीमालेख संख्या ५८ हजार ४२४ रहेको छ । 

त्यस्तै, गण्डकी प्रदेशबाट ५६ करोड ७१ लाख रुपैयाँ प्रिमियम कलेक्सन हुँदा उक्त प्रदेशमा बीमालेख संख्या ६७ हजार ८४२ रहेको छ । साथै सुदूरपश्चिम प्रदेशबाट २५ करोड रुपैयाँ प्रिमियम कलेक्सन हुँदा उक्त प्रदेशमा बीमालेख संख्या ३६ हजार ८०३ रहेको छ । 

त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा ९ करोड ४२ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ । उक्त प्रदेशमा कुल बीमालेख संख्या १० हजार ८०९ मात्रै रहेको छ ।