काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले करिब १ अर्ब मुनाफा आर्जन गरेका हुन् ।गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा १७.५२ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ८३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालू आवको तीन महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स छ । कम्पनीले सो अवधिसम्म १४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि सो अवधिसम्म १४ करोड रुपैयाँ नाफा कमाएको छ । 

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीले १३ करोड ७६ लाख, शिखर इन्स्योरेन्सले ११ करोड २४ लाख, नेको इन्स्योरेन्सले ८ करोड ८० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ करोड ७० लाख, हिमालयन एभरेष्टले ५ करोड ३४ लाख नाफा आर्जन गरेको छ ।

यसैगरी, एनएलजीले ५ करोड १४ लाख, आईजीआई प्रुडेन्सियलले ५ करोड ११ लाख, प्रभुले ५ करोड ६ लाख, युनाइटेड अजोडले ३ करोड ८६ लाख, सानिमा जीआईसीले ३ करोड ३७ लाख, ओरियण्टलले १ करोड ४९ लाख र नेशनल इन्स्योरेन्सले ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुले नाफामा बृद्धि गर्न सफल भएका छन् । भारतीय कम्पनी ओरियण्टल र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीले नाफामा उल्लेख्य सुधार गर्न सफल भएका छन् । 

गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा बृद्धि गर्ने कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा १८० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको मुनाफा १५५.६० प्रतिशत र नेको इन्स्योरेन्सको १४९.५१ प्रतिशतले बृद्धि भएको छ ।