काठमाण्डौ । १४ निर्जीवन बीमा कम्पनीमध्ये दुई भारतीय कम्पनी ओरियण्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स बाहेकका सबै कम्पनीहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् । 

धितोपत्र दोस्रो बजारमा निर्जीवन बीमा कम्पनीमा लगानी गर्न कम जोखिम हुने लगानीकर्ताहरु बताउँछन् । जीवन बीमा कम्पनीहरुको तुलनामा दोस्रो बजारमा निर्जीवन बीमा कम्पनीको सेयरभाउ पनि बढी नै हुने गर्दछ । दोस्रो बजारमा कम्पनीको चुक्तापूँजीले सेयरभाउलाई प्रभाव पार्ने गर्दछ । 

हाइड्रोपावर, बैंक, होटल तथा पर्यटन जस्ता कम्पनीहरुको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको सूचीृकत सेयर संख्या दोस्रो बजारमा कम नै छ, यसकारण पनि निर्जीवन बीमा कम्पनीको सेयरमा लगानी गरिहाल्दा जोखिम त्यति हुँदैन ।

साथै जीवन बीमा कम्पनीहरुको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा पनि चाँडै हुन्छ । जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएशनपछि मात्रै लाभांश निर्धारण हुन्छ, भने निर्जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएशन हुँदैन । निर्जीवन बीमा कम्पनीले तोकेको मापदण्ड पुरा गरी नाफाको आधारमा नै लाभांश बाँड्न पाउँछन् । 

सूचीकृत १२ वटा कम्पनीमध्ये कुन कम्पनीमा लगानी गर्दा उचित हुन्छ भन्ने कुराको विश्लेषण लगानीकर्ता स्वयं आफैंले गर्नुपर्ने हुन्छ । 

यस्ता सूचकको आधारमा हामीले आज कुन निर्जीवन बीमा कम्पनीमा लगानी गर्दा कम जोखिम हुन सक्छ भनेर विश्लेषण गरेका छौं । तर सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको धितोपत्र दोस्रो बजारमा २६ लाख ६६ हजार कित्ता सेयरमात्रै सूचीकृत रहेकोले कम्पनीको सेयरभाउ उच्च छ र खरिदबिक्री पनि नहुने भएकोले कुनै पनि सूचकमा कम्पनीलाई समावेश गराइएको छैन । 

ईपीएसको आधारमा 
सेयरमा लगानी गर्नुअघि लगानीकर्ताहरुले कम्पनीको प्रतिसेयर आम्दानी
(ईपीएस) को बारेमा बुझ्नु पर्दछ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।
यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । 
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणको आधारमा सबैभन्दा बढी ईपीएस नेपाल इन्स्योरेन्सको छ । कम्पनीको ईपीएस ३९.१२ रुपैयाँ छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको १९.९६ रुपैयाँ र नेकोको १७.५० रुपैयाँ छ । त्यस्तै सबैभन्दा थोरै ईपीएस आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६.७५ रुपैयाँ छ । 
नेटवर्थको आधारमा 
प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि कम्पनीको प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझिन्छ । कम्पनीको नेटवर्थ जति बढ्दै गयो उति नै सेयरभाउ पनि बढ्दै जाने बढी सम्भावना हुन्छ । 
सेयर विज्ञहरुका अनुसार नेटवर्थ बढी हुने कम्पनीको सेयरमा लगानी गर्न बढी उचित हुन्छ । वित्तीय विवरणको आधारमा सबैभन्दा बढी नेटवर्थ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २६१.३९ रुपैयाँ छ भने सबैभन्दा थोरै सानिमा जीआईसीको १३२.८० रुपैयाँ छ । 
पीई रेसियोको आधारमा 
मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि बुझ्नै पर्ने महत्वपूर्ण सूचक हो । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन ।
पहिलो त्रैमाससम्म सबैभन्दा थोरै पिई रेसियो नेपाल इन्स्योरेन्सको १८.३८ गुणा छ, भने सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ७९.१९ गुणा छ । 
अधिकतम वितरित बोनस सेयर 
लगानीकर्ताहरुले दोस्रो बजारमा दीर्घकालिन लगानी गर्नका लागि कम्पनीले विगतमा कतिसम्म बोनस सेयर बाँड्दै आइरहेको छ, त्यो हेर्न जरुरी हुन्छ । आफुले लगानी गरेको कम्पनीले वर्षेनी कति प्रतिफल वितरण गरेको छ त्यो बुझेर मात्रै लगानी गर्नु उचित हुन्छ। 

 

विगतमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (साविक सगरमाथा) ले लगानीकर्तालाई आर्थिक वर्ष २०६८/६९ मा शतप्रतिशत बोनस सेयर वितरण गरेको थियो । साविक सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइसकेपछि पनि कम्पनीले राम्रै व्यवसाय गरी उल्लेख्य नाफा आर्जन गरेको छ । यसआधारमा पनि कम्पनीले आफ्ना सेयरधनीहरुलाई राम्रै बोनस बाँड्न सक्नेछ । 
हाइ–लो सेयरभाउको आधारमा 
सर्बप्रथम कम्पनीको सेयरभाउ कतिसम्म बढेको छ र कतिसम्म घटेको छ त्यो लगानीकर्ताले बुझ्न आवश्यक पर्छ । लगानीकर्ताहरुले कम्पनीको सेयरप्राइसको चार्ट विश्लेषण गरेर पनि लगानी गर्ने बानी बसाल्नु पर्दछ । यदि कुनै कम्पनीको सेयरभाउ १ हजार रुपैयाँसम्म पुगेको छ र पछिल्ला केही दिनयता घट्दै गई ६/७ सय रुपैयाँमा झरेको छ, भने लगानी गर्दा उचित मानिन्छ ।

तर कम्पनीको सेयरभाउलाई पनि कम्पनीको व्यवसाय, मुनाफा, ईपीएस, लाभांश जस्ता सूचकहरुले पनि प्रभाव पार्छ । लगानीकर्ताले सेयरभाउको उतारचढावलाई मात्रै विश्लेषण गरेर लगानी गर्दा जोखिम बढ्न सक्छ । 
नेप्सेको पछिल्लो ५२ हप्ताको सेयरभाउ हिस्ट्रीअनुसार सर्वाधिक शिखर इन्स्योरेन्सको सेयरभाउ १०१० रुपैयाँ पुगेको छ, भने लो प्राइस ६८२ रुपैयाँमा झरेको छ ।