काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले १२ अर्बमाथि प्रिमियम कलेक्सन गरेका हुन् । 
गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा व्यवसाय भने ४.७० प्रतिशतले घटेको छ ।

गत वर्षको यसै अवधिसम्म १३ अर्ब ३५ करोडमाथि प्रिमियम उठाएका कम्पनीहरुले यस वर्ष जम्मा १२ अर्ब माथि मात्रै प्रिमियम संकलन गरेका हुन् । ती निर्जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा बढेको छ भने पाँच वटा ठूला निर्जीवन बीमा कम्पनीको व्यवसाय खस्किएको छ । 

कात्तिक मसान्तसम्म सबैभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३३ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब २७ करोड, हिमालयन एभरेष्टले १ अर्ब १३ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । 
बृद्धिदरमा प्रभु र हिमालयन एभरेष्ट इन्स्योरेन्सको फड्को
गत आर्थिक वर्षको तुलनामा ९ कम्पनीको व्यवसायमा सुधार देखिएको छ, भने बाँकी सलिकोसहित ५ कम्पनीको व्यवसाय खस्किएको छ । 
गत वर्षको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउनेमा प्रभु इन्स्योरेन्स अब्बल देखिएको छ ।

कम्पनीले गत वर्षको चार महिनामा ४८ करोड ९२ लाख रुपैयाँ मात्रै प्रिमियम उठाउँदा यस वर्षको सोही अवधिसम्म ४४.३२ प्रतिशतले बढाएर ७० करोड ६१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

त्यस्तै, अर्को हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि आफ्नो व्यवसायमा फड्को मारेको छ । गत वर्षको कात्तिक महिनामा ९० करोड ९६ लाख रुपैयाँ मात्रै प्रिमियम उठाएको कम्पनीले यस वर्षको सोही अवधिसम्म २४.६२ प्रतिशतले व्यापार बढाएर १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै, ओरियण्टल इन्स्योरेन्सले १७.२५ प्रतिशत, नेशनल इन्स्योरेन्सले १६.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ७.११ प्रयितशत, सानिमा जीआईसीले ४.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ४.१० प्रतिशत, नेकोले १.६२ प्रतिशत र शिखरले ०.२५ प्रतिशतले व्यवसाय बढाएको छ । 

स्रोत : नेपाल बीमा प्राधिकरण