काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय आधाभन्दा बढी बागमती प्रदेशमा निर्भर छ । प्राधिकरणले अन्य प्रदेशका विभिन्न स्थानीय तहहरुमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेतापनि अन्य प्रदेशमा निर्जीवन बीमा व्यवसाय भने बढ्न सकेको छैन । 
प्राधिकरणले अहिले पनि मुलुकका विभिन्न पालिकाहरुसँग समन्वय गरी बीमा सचेतना तथा अन्तरक्रिया गर्दै आइरहेको छ । तर पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अपेक्षाकृत रुपमा निर्जीवन बीमा व्यवसाय फस्टाउन सकेको छैन । 

कात्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीको कुल व्यवसाय अन्तर्गत ६६ प्रतिशत व्यवसाय बागमती प्रदेशमा निर्भर छ । तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट मात्रै ८ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको अवस्था छ । 

प्राधिकरणले अन्य प्रदेश तथा जिल्लाहरुमा बीमा व्यवसाय बढाउनुपर्नेमा जोड दिएपनि ६६ प्रतिशत व्यवसाय बागमती प्रदेशमा मात्रै निर्भर छ । 

त्यस्तै, लुम्बिनी प्रदेशबाट १ अर्ब १९ करोड ८० लाख, कोशी प्रदेशबाट १ अर्ब ८ करोड, मधेश प्रदेशबाट ८५ करोड ७१ लाख, गण्डकी प्रदेशबाट ७२ करोड ७ लाख, सुदूरपश्चिम प्रदेशबाट ३२ करोड ७० लाख र कर्णाली प्रदेशबाट ११ करोड ७५ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ । 
कुन प्रदेशमा बीमालेख संख्या कति ? 
प्राधिकरणको तथ्यांकअनुसार ७ वटा प्रदेशमा निर्जीवन बीमा कम्पनीको कुल बीमालेख संख्या ८ लाख ९४ हजार ५२४ छ । 
सबैभन्दा बढी बागमती प्रदेशमा ४ लाख १३ हजार ५३३ छ । 

त्यस्तै, लुम्बिनी प्रदेशमा १ लाख ४१ हजार ७७६, कोशी प्रदेशमा १ लाख ७ हजार २६५, गण्डकी प्रदेशमा ९० हजार ५८९, मधेश प्रदेशमा ८१ हजार ५६६, सुदूरपश्चिम प्रदेशमा ४५ हजार ८८६ र कर्णाली प्रदेशमा १३ हजार ९०९ छ ।