काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष२०८० /०८१को पहिलो त्रैमाससम्ममा आफ्ना कर्मचारीहरुको सुविधाका लागि १ अर्ब २० करोड ६५ लाख रुपैयाँ छुट्याएका छन् । 

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४वटा  निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्च शिर्षकमा १ अर्ब रुपैयाँभन्दा बढी छुट्याएका छन् । यो रकम गत वर्षको तुलनामा ४३.६० प्रतिशतले बढी हो । गत वर्षमा ती कम्पनीहरुले कर्मचारीका लागि ८४ करोड २ लाख रुपैयाँमात्र छुट्याएका थिए । 

कर्मचारी लाभखर्च शिर्षक भन्नाले कम्पनीले आफ्ना कर्मचारीहरुलाई सुविधादिन वा फाइदा पुर्‍याउन खर्चिएको रकम बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्रनगद पनि हुन सक्छ । जसमा न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कर्मचारीलाई स्वास्थ्य बीमालगायत अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था हुन्छ । यस्तो रकमलाई कम्पनीहरुले पहिला कर्मचारी बोनस शिर्षकमा छुट्याउने गर्दथे । 

बफादार जनशक्ति, कामप्रति निष्ठा, कामको प्रशंसा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमता अभिबृद्धि गर्नका लागि कम्पनीहरुले कर्मचारी लाभ खर्च छुट्याएका हुन्छन् ।

उक्त अवधिसम्ममा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कर्मचारी सुविधाका लागि १३ करोड ४२ लाख ४७ हजार रुपैयाँ छु्ट्याएको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि १३ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । 

यसका साथै गत वर्षको तुलनामा कर्मचारी लाभखर्च शिर्षकमा सबैभन्दा बढी रकम बढाउने कम्पनीमा सानिमाजीआईसी इन्स्योरेन्स छ । कम्पनीले गत वर्षको तुलनामा १५८ प्रतिशतले यस्तो रकम बृद्धि गरेको छ । 

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि गत वर्षको तुलनामा १०६ प्रतिशतले कर्मचारी लाभखर्च बृद्धि गरेको छ । १४ वटा कम्पनीमध्ये नेशनल इन्स्योरेन्सको यस्तो खर्च गत वर्षको तुलनामा घटेको छ भने सबै कम्पनीको कर्मचारी सुविधाखर्च बढेको छ । 

जसलेगर्दा निर्जीवनबीमा कम्पनीहरुले यस्तो रकम बृद्धि गरी कर्मचारीलाई मख्ख बनाएको देखिन्छ । अधिकांश मर्जरमा गएका कम्पनीहरुले पनि कर्मचारी बोनस अर्थात् सुविधा रकम गत वर्षको तुलनामा अझ बृद्धि गरेका छन् ।

स्रोत: कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित