काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा निर्जीवन लघु बीमा कम्पनीले १५ अर्ब बढी प्रिमियम भित्र्याका हुन् । 
प्राधिकरणले बीमाको दायरा सबै क्षेत्रमा बढाउन विभिन्न पालिकाहरुमा बीमा सम्बन्धि अन्तरिक्रयाहरु गर्दै आइरहेको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सार्वजनिक कार्यक्रमहरुमा बीमाको पहुँच पुर्‍याउन विभिन्नतह–तहमा बीमा अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको बताएका छन् । 
 

तर निर्जीवन बीमा कम्पनीहरुको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ । प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा ५३ प्रतिशत व्यवसाय बागमती प्रदेशबाट मात्रै भित्रिने गरेको छ । 
 

निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट मात्रै १० अर्ब २६ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशबाट १ अर्ब ५० करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । 
 

यसका साथै कोशी प्रदेशबाट १ अर्ब ४० करोड, मधेश प्रदेशबाट १ अर्ब ८ करोड, गण्डकी प्रदेशबाट ९१ करोड ४९ लाख, सुदूरपश्चिम प्रदेशबाट ४१ करोड ८४ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट १५ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ । 
कुन प्रदेशमा कति छ बीमालेख संख्या ?
मंसिर महिनासम्म निर्जीवन बीमा कम्पनीहरुमा कुल बीमालेख संख्या ११ लाख७२ हजार ४४७ छ । सबैभन्दा बढी बागमती प्रदेशमा५ लाख ३० हजार ७३३  छ । 

यसका साथै लुम्बिनी प्रदेशमा १ लाख ८७ हजार ४९४, कोशी प्रदेशमा १ लाख ४४ हजार २८६, गण्डकी प्रदेशमा १ लाख २१ हजार ६८, मधेश प्रदेशमा १ लाख ९ हजार १९९, सुदूरपश्चिम प्रदेशमा ६१ हजार २८८ र कर्णाली प्रदेशमा १८ हजार ३९७  छ ।