काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा साढे ४० अर्ब बीमाशुल्क आर्जन (प्रिमियम कलेक्सन) गरेका छन्। 

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्। जुन अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा ३.५९ प्रतिशतले मात्रै बढी हो। अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए। प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत वर्षमा कम्तीमा ५ प्रतिशतले बीमा व्यवसाय बढ्ने आंकलन गरेको थियो। 

यो एक वर्षको अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ५ अर्ब ५२ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। त्यस्तै मर्जरमा गएका कम्पनीहरुको पनि प्रिमियम कलेक्सनमा उत्कृष्ट प्रदर्शन देखिएको छ। 

दोस्रोमा बढी प्रिमियम कलेक्सन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी रहेको छ। सलिकोले ४ अर्ब ५५ करोड प्रिमियम कलेक्सन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ५१ करोड प्रिमियम कलेक्सन गरेको छ। 

यसका साथै युनाइटेड अजोड इन्स्योरेन्सले पनि बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको छ। कम्पनीले असार मसान्तसम्म ३ अर्ब ४२ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ३९ करोडमाथि प्रिमियम कलेक्सन गरेको छ भने हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ३५ करोडमाथि प्रिमियम कलेक्सन गरेको छ। 

बीमा शुल्क आर्जनमा दोस्रो वा तेस्रो स्थानमा पर्ने नेको इन्स्योरेन्स सातौँ स्थानमा झरेको छ। मर्जरमा गएका कम्पनीहरुले नेकोलाई उछिन्दै उत्कृष्ट प्रिमियम कलेक्सन गरेका छन्। गत आर्थिक वर्षको अन्त्यसम्म नेकोले जम्मा २ अर्ब ९२ करोड प्रिमियम कलेक्सन गरेको छ। 

त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम कलेक्सनमा प्रगति गर्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ। प्रभुले गत आर्थिक वर्षमा २२.२० प्रतिशत बढीले प्रिमियम कलेक्सनमा ग्रोथ गरेको देखिएको छ। 

त्यस्तै दोस्रोमा सानिमा जीआईसी इन्स्योरेन्सले पनि १९.४८ प्रतिशत बढीले बीमा शुल्क आर्जन बढाएको छ।