काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा ५ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। 

कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणका आधारमा १४ निर्जीवन बीमा कम्पनीको खुद नाफा सवा ५ अर्ब पुगेको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५७ करोड रुपैयाँ माथि नाफा कमाएका थिए। 

असार मसान्तसम्म आइपुग्दा सबै निर्जीवन बीमा कम्पनीको मुनाफा उल्लेख्य रुपमा बढेको छ। यो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) रहेको छ। कम्पनीले असार मसान्तसम्म ७७ करोड २५ लाख रुपैयाँमाथि नाफा कमाएको छ।

त्यस्तै दोस्रोमा नेको इन्स्योरेन्स रहेको छ। नेकोले पनि यो अवधिसम्म ५५ करोड ३१ लाख रुपैयाँमाथि नाफा आर्जन गरेको छ। 

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ८२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४० करोड ३१ लाख रुपैयाँ, हिमालयन एभरेस्टले ४० करोड ६ लाख रुपैयाँ, ओरियन्टलले ४० करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरले ३६ करोड ३५ लाख, सानिमा जीआईसीले २८ करोड १ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २६ करोड १० लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्सले २० करोड २० लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ माथि नाफा आर्जन गरेका छन्। 

कुनले कति नाफा बढाए ? 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा नाफा वृद्धि गर्नेमा हिमालयन एरभेष्ट इन्स्योरेन्स रहेको छ। अघिल्लो आर्थिक वर्षमा १४ करोड ६ लाख रुपैयाँमात्रै नाफा कमाएको हिमालयन एभरेष्टले यस अवधिसम्म १८४.७५ प्रतिशतले नाफा वृद्धि गरी ४० करोड रुपैयाँ माथि मुनाफा आर्जन गरेको छ। 

त्यस्तै सानिमा जीआईसीले ९३.३६ प्रतिशतले नाफा बढाएको छ। यसका साथै, राष्ट्रिय बीमा कम्पनीले ६३.१६ प्रतिशत, आईजीआई प्रुडेन्सियलले ५२.४३ प्रतिशत, शिखरले ४६.५६ प्रतिशत, युनाइटेड अजोडले ४४.५६ प्रतिशत, ओरियन्टलले ३७.६२ प्रतिशत, प्रभुले २९.२७ प्रतिशत, सगरमाथा लुम्बिनीले २२.२७ प्रतिशत, नेपाल इन्स्योरेन्सले ९.८९ प्रतिशत, नेकोले १.५३ प्रतिशत, एनएलजीले १.०२ प्रतिशत, सिद्धार्थ प्रिमियरले ०.८५ प्रतिशतले नाफा बढाएका छन्। 

त्यस्तै अघिल्लो आर्थिक वर्षमा १२ करोड ५६ लाख रुपैयाँ नोक्सानमा रहेको नेसनल इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड १८ लाख रुपैयाँ माथि नाफा आर्जन गरेको छ।