काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ बमोजिम कामकारबाही कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ। 

राष्ट्र बैंकले आज विदेशी विनिमय कारोबार गर्न इजाजपत्रप्राप्त लिएका निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै यस्तो परिपत्र जारी गरेको हो। ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७५ लाई संशोधन गरी निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि (दोस्रो संशोधन), २०७९ लागू गरेको हुँदा सोहीबमोजिम विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको हो’, परिपत्रमा उल्लेख छ। 

निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि (दोस्रो संशोधन), २०७९ तथा यो परिपत्रमा उल्लेख भएका प्रावधान तथा प्रक्रियाहरु पूरा नभई प्राप्त भएका निवेदनको शोधभर्ना नगरिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा प्राप्त भएका रितपूर्वकका निवेदनहरुको शोधभर्ना गर्दा नेपाल सरकार अर्थ मन्त्रालयले यसै प्रयोजनका लागि राष्ट्र बैंकलाई अग्रिम रुपमा उपलब्ध गराएको रकमले खामेसम्म १५ दिनभित्रै भुक्तानी गरिने परिपत्रमा उल्लेख छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालै निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ लागू गरेको थियो।