काठमाण्डौ । आन्तरिक मागलाई ध्यानमा राख्दै भारत सरकारले गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा चामलको मूल्य ह्वात्तै बढेको छ। 

भारतको निर्यात प्रतिबन्धका कारण संयुक्त अरब इमिरेट्सलाई सबैभन्दा ठूलो झट्का लागेको छ। भारत यूएईमा चामल आपूर्ति गर्ने शीर्ष देश हो र निर्यात प्रतिबन्धले यूएईमा चामलको मूल्यमा वृद्धि भएको छ। जसका कारण चामलको मूल्य बढ्न नदिन यूएईका व्यापारीले अन्य विकल्प खोज्न थालेका छन्।

यद्यपि अहिलेसम्म भारतले चामलमा लगाएको प्रतिबन्धले यूएईमा खुद्रा चामलको मूल्यमा सीमित प्रभाव पारेको छ। 

भारतीय खाद्यान्न आयात गर्ने सबैभन्दा ठूलो दुबईस्थित आदिल ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. धनञ्जय दातारले भने, ‘भारत सधैँ यूएईलाई चामलको प्रमुख आपूर्तिकर्ता रहेको छ। प्रतिबन्धले स्थानीय बजारमा भारतीय चामलको तत्काल अभाव निम्त्याउनेछ, जसले गर्दा जनतालाई चामलको अपर्याप्त आपूर्ति हुनेछ। यसले मूल्यमा अस्थिरता निम्त्याउन सक्छ। यूएईका व्यापारी र खाद्य आयातकर्ताले भारतको विकल्प खोज्नु अहिलेको आवश्यकता हो।’

भारतले आन्तरिक मूल्य स्थिर राख्न विगत दुई वर्षदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा गहुँको भाउ उकालो लागेको छ। यसको असर यूएईमा पनि परेको छ र अहिले चामलको मूल्य बढेपछि य्रएईलाई फेरि एकपटक झट्का लागेको छ।

पछिल्लो समय रुस–युक्रेनबीचको ब्ल्याक सी सम्झौता खारेज भएपछि यूएईका व्यवसायीले ठूलो घाटा व्यहोरेका छन् र अहिले भारत सरकारको निर्णयले उनीहरुको कठिनाइ बढ्दै गएको छ। 

विश्वको सबैभन्दा ठूलो गहुँ आपूर्तिकर्ता युक्रेनले ब्ल्याक सी हुँदै विश्व बजारमा गहुँ पठाउने गर्दथ्यो तर रुसले ब्ल्याक सी सम्झौता रद्द गरेपछि गहुँको मूल्यमा भारी उछाल आएको छ।

यूएईका स्थानीय चामल आयातकर्ता अहिले चामल आयातका लागि थाइल्यान्ड, भियतनाम वा पाकिस्तानतिर लागेका छन्। 

भारतले गैरबासमती चामल निर्यात गर्ने शीर्ष ५ देशमा अमेरिका पनि रहेको छ। भारतले चामलमा प्रतिबन्ध लगाएको खबर आएदेखि नै अमेरिकामा मानिसहरु आत्तिएका छन्। सामाजिक सञ्जालमा धेरै तस्बिर र भिडियो भाइरल भएका छन्। जसमा मानिसहरु सुपरमार्केटमा १०–१० प्याकेट चामल किनिरहेका छन्।

किनमेलमा त्रास बढ्दै गएपछि पसलले चामलको मूल्य पनि बढाएको छ। अमेरिकामा नाइन फोर्टिफाइड चामलको प्याकेट २७ डलरमा बिक्री भइरहेको छ। –एजेन्सी