काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा वस्तु आयात–निर्यात दुवै बढेको छ। 

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। समीक्षा वर्षमा ४४.४ प्रतिशतले वृद्धि भई रु. १४१ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो। 

गत आर्थिक वर्षमा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई रु. १५३९ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो। 

गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेर रु. १३९८ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो।

यसैगरी देशमा महँगी घटेको देखिएको छ। प्रतिवेदनमा गत आर्थिक वर्षको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशतमा सीमित बनेको छ। अघिल्लो वर्ष २०७६/७७ मा यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो। यो हिसाबले मुद्रास्फीति २.५५ प्रतिशतले घटेको छ। 

समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.५१ प्रतिशत रहेको छ। जब अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमशः ८.१६ प्रतिशत र ४.६१ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा चालु खाता रु. ३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता रु. ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु. १ अर्ब २३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो। 

समीक्षा वर्षमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो।