काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) र बजार मूल्य बीच तुलना गरेर कारोबार(खरिदबिक्री) गर्नु राम्रो मानिन्छ ।

यदि नेटवर्थ धनात्मक छ भने कम्पनीको वित्तीय स्वास्थ्य अवस्था राम्रो हुन्छ, यसमा लगानीसमेत सुरक्षित रहेको मानिन्छ । दोस्रो बजारमा प्रतिसेयर नेटवर्थ र सेयरभाउको सम्बन्ध सकारात्मक हुन्छ। नेटवर्थ बढ्दा सेयरभाउ बढ्ने र नेटवर्थ घट्दा सेयरभाउसमेत घट्ने हुन्छ। कुनै पनि कम्पनी लगातार घाटामा गएर सञ्चित नोक्सानी बढ्दै गई सेयर पूँजीभन्दा सञ्चित नोक्सानी बढी भएमा नेटवर्थ ऋणात्मक हुन जान्छ।

कम्पनीको सेयर संख्या बढ्दै जाँदा यता प्रतिसेयर नेटवर्थ घट्दै जाने हुन्छ। कम्पनीले बोनस सेयर, हकप्रद सेयर वा एफपीओ जारी गर्दा सेयर संख्या बढ्न गई बुक भ्यालु घट्न जान्छ। 

दोस्रो बजारमा धनात्मक  र उच्च नेटवर्थ भएका कम्पनीको सेयर खरिद गर्नु लगानीको दृष्टिकोणबाट सुरक्षित मानिन्छ। कम्पनीको चुक्तापूँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ हो। कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ। नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ।

दोस्रो बजारमा कुनै पनि कम्पनीको लगानी गर्नुअघि प्रतिसेयर नेटवर्थलाई राम्रोसँग अध्ययन गरेरमात्रै लगानी गर्नुपर्दछ। दोस्रो बजारमा सेयरमा लगानी गर्नका लागि कम्पनी छनौट गर्दा नेटवर्थ र बजार मूल्यको फरक न्यून भएका वा बजार मूल्य र नेटवर्थको अनुपात तुलनात्मक रुपमा कम भएका र धनात्मक नेटवर्थ भएका कम्पनी छनोट गर्नु उपयुक्त हुने बजार जानकारहरु बताउँछन्। 

यसका साथै, दोस्रो बजारको जानकारी भएका लगानीकर्ताहरुले लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत हेर्ने गर्दछन्। ईपीएस पनि लगानीका लागि एक महत्वपूर्ण सूचक मानिन्छ। ईपीएसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने गर्दछ। 

ईपीएसले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ। सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधारका रुपमा ईपीएसलाई लिइन्छ। बजार बुझ्ने लगानीकर्ताले कम्पनीको ईपीएसबाटै कम्पनीले कतिसम्म लाभांश दिन सक्ने क्षमता राख्छ, त्यसको अनुमान लगाउन सक्छन्। 

बीमा कम्पनीहरुमा सबैभन्दा धेरै ईपीएस र नेटवर्थ भएका १० वटा कम्पनीको रिपोर्ट तयार पारिएको छ। जीवन बीमा कम्पनीभन्दा निर्जीवन बीमा कम्पनीको नेटवर्थ बढी हुने भएकोले १० वटा धेरै बुकभ्यालु र ईपीएस रहेका निर्जीवन बीमा कम्पनीको तथ्यांकअनुसार सबैभन्दा बढी नेटवर्थ सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को रहेको छ। कम्पनीको बुकभ्यालु २२८.९२ रुपैयाँ र ईपीएस २९.३६ रुपैयाँ रहेको छ। यसआधारमा दोस्रो बजारमा सलिकोमा लगानी गर्नु सुरक्षित मानिन्छ। 

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २२५.९१ रुपैयाँ, नेकोको बुकभ्यालु २१०.७९ रुपैयाँ, एनएलजीको २०९.५ रुपैयाँ, प्रभु इन्स्योरेन्सको १९८ रुपैयाँ, नेपाल इन्स्योरेन्सको १९६.७० रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १८८.६८ रुपैयाँ, शिखर इन्स्योरेन्सको १८५.८९ रुपैयाँ, आइजीआई प्रुडेन्सियलको १६५.१२ रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सको १३९.६५ रुपैयाँ रहेको छ। 
(नोटः प्रस्तुत समाचारमा उल्लेख गरिएका बीमा कम्पनीहरुमा कारोबार गर्न सुझाव गरिएको होइन। लगानीकर्ताले आफैँले विश्लेषण गरेर सेयर खरिदबिक्री गर्नु नै उपयुक्त मानिन्छ।)