काठमाण्डौ ।

  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले विदेशी बैंकका ग्राहकहरुको खाताबाट रकम निकाल्ने कार्यमा संलग्नताको आरोपमा भदौ २० गते ठमेलको रोयल पेन्गुईन होटलबाट टर्किसबाट नेपाल घुम्न आएका ३० वर्षीय इक्रेम ओरमान्सीलाई पक्राउ गर्यो । प्रहरीले उनको साथबाट १ हजार २ सय २५ यूरो, ९ हजार ७ सय १० अमेरिकी डलर, ३ हजार इण्डोनेशियाली मुद्रासँगै ३४ थान काउण्टरफाईट एटीएम, चार थान मोबाईल, एक थान ल्यापटप र एक थान कार्ड स्कीमर बरामद गर्यो । उनले दरबमार्ग र ठमेल क्षेत्रका एटीएमहरु ह्याक गरी अर्काको पैसाको खाता निकालेको पाइएको छ । 
  • प्रहरीले भदौ २५ गते(आइतबार) ठमेल लगायतका क्षेत्रमा एटीएम ह्याक गर्ने कार्यमा संलग्नताको आरोपमा २३ वर्षका बुल्गेरियन नागरिक मिट्को स्तोनोभ मिथ्युभलाई पक्राउ गर्यो । उनीबाट प्रहरीले अबैध एटीएम कार्ड १२८ थान, नेपाली नगद चारलाख ४० हजार, अमेरिकी डलर २० तथा मोबाइल फोन १ थान, ल्यापटप १ थान र कार्डस्कीमर १ थान समेत बरामद गर्यो । 

यी भए पछिल्ला प्रतिनिधि घटना । नेपालका एटीएम ह्याक गरेर अर्काको खाताको पैसा उडाइदिने विदेशी ह्याकरहरुको समूहले पछिल्लो टार्गेट नेपाललाई बनाइरहेको देखिन्छ । प्रहरीका अनुसार यस्तो कार्यमा संलग्नताको आरोपमा पछिल्लो २ वर्षको अवधिमा १६ विदेशी नागरिक पक्राउ परिसकेका छन् । योसँगै पक्राउ नपर्ने र एटीउमबाट अर्काको पैसा चोरी गर्नेहरुको संख्या धेरै छ । यी सबै घटनाक्रमहरुले यही पुुष्टि गर्छ कि तपाईले ढुक्कले बैंकमा राखेको पैसा सुरक्षित छैन । तपाई आफूले एटीएम प्रयोग गर्दा गर्ने सामान्य भूलले आफूले दुःख गरी जम्मा गरेको पैसा ह्याकरको हातमा पर्न सक्छ । ह्याकरहरुले नेपाललाई ठगी धन्दाको नयाँ गन्तव्य बनाइरहँदा हामी चाहि यस्तो ठगीबाट कसरी बच्ने ? यो बिषय अब थप पेचिलो बनेको छ । आउनुहोस्, एटीएम ह्याक वा ठगीबाट बच्ने केही टिप्सको बिषयमा हामी तपाईलाई बताउँछौ:

एटीएममा यसरी हुन्छ ठगी
अन्तराष्ट्रिय क्षेत्रका बैंक विज्ञका अनुसार ह्याकरहरुले डाटा चोरीका लागि कार्ड स्क्रिमिङ, गोप्य क्यामेरा, नक्कली किबोर्डसँगै शोल्डर सर्फर्स जस्ता नयाँ तरिका समेत अपनाउने गर्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताको डाटा चोरीका लागि हरेक संभव क्षेत्रमा ह्याकरले डिभाइस लगाएर ह्याकिङ गर्ने कोशिश गरिरहेका हुन्छन् । यदि प्रयोगकर्ता सचेत हुने हो भने यस्ता एटीएम काउण्टर प्रयोग गर्नबाट उनीहरु बच्न सक्छन । यो उपायबाट उनीहरु ठगीबाट बच्न सक्छन् । 

यसरी गरौं कार्ड स्क्रिमिङ


तपाईले एटीएममा जहाँ आफ्नो कार्ड घोट्नुहुन्छ, त्यहाँ ह्याकरले कार्ड रिडर लगाएका हुनसक्छन् । यस्तो अवस्थामा तपाई जब कार्डलाई घोट्नुहुन्छ, तब कार्डको डिटेल ह्याकरसम्म पुग्नसक्छ । यो प्रोसेसलाई कार्ड स्क्रिमिङ भनिन्छ । 

जुन मेसिनबाट कार्ड स्क्रिमिङ हुन्छ, त्यहाँ कार्ड रिडरको स्पेस निकै चौडा हुने गरेको पाइएको छ । अर्थात, त्यो सामान्य स्पेसको तुलनामा निकै ठूलो हुन्छ । यस्तो अवस्थामा जब तपाईं कार्ड एटीएम मसिनमा घोट्नुहुन्छ वा छिराउनुहुन्छ, सो बेला यो कुरालाई निकै ध्यान दिनुपर्ने हुन्छ । 

गोप्य क्यामेराबाट पिन चोरी


ह्याकरले एटीएम पिन वा पासवर्ड चोर्न कयौं पटक एटीएम मेसिनमा हिडेन(गोप्य) क्यामेरा लगाउँछन । यो क्यामेरा स्क्रीनको ठीक माथिल्लो भागमा लगाइएको हुन्छ । यस्तो अवस्थामा  पिन लगाउने क्रममै तपाईंको डाटा चोरी  हुनसक्छ । त्यसकारण एटीएम प्रयोग गर्ने क्रममा यी कुरालाई विशेष ध्यान दिनुहोस् । स्क्रीनमाथि कुनै सानो प्वाल वा छिद्र पो छ कि भन्ने कुरा एटीएम प्रयोग गर्ने क्रममा ध्यान दिनुहोस् । यदि त्यस्तो प्वाल वा छिद्र देख्नुभयो भने त्यहाँ हिडेन(गोप्य) क्यामेरा लगाइएको हुनसक्छ । ह्याकरहरुले यो कामका लागि निकै सानो छिद्रको समेत प्रयोग गरिरहेका हुनसक्छन् । यस्तो अवस्थामा यो कुरामा  विशेष ध्यान दिन आवश्यक छ । 

कसरी चिन्ने नक्कली किबोर्ड ?


ह्याकरहरुले एटीएममा नक्कली किबोर्डको समेत प्रयोग गरिरहेका छन् । यस्तो किबोर्डबाट उनीहरुले तपाईको पिन नम्बर पत्ता लगाउन सक्छन् । यस्तो किबोर्ड उनीहरुले एटीएममा पहिलादेखि लगाइएको सक्कली किबोर्ड माथि लगाउँछन । जुन एटीएममा यस्तो किबोर्ड लगाइएको हुन्छ, त्यो एटीएम प्रयोग गर्नुुअघि तपाईंले जाँच गर्न सक्नुहुन्छ । यस्तो किबोर्ड प्रयोग गर्ने क्रममा निकै नरम हुन्छ । जबकि एटीएमको सक्कली किबोर्ड धेरै नरम हुँदैन । 

स्क्रीन नै हुनसक्छ ह्याक !


कतिपय अवस्थामा ह्याकरहरुले एटीएम सफ्टवेयरलाई ह्याक गरी स्क्रीनमा भ्रामक म्यासेज  पठाउन थाल्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले स्क्रीनमा आएको म्यासेज अनुसार कमाण्ड दिन थाल्छन् । यो प्रक्रियामा स्क्रीनमा दुई दुईपटकसम्म पिन कोड टाइप गर्ने अप्सन आउँछ । यदि एटीएम प्रयोग गर्ने समयमा यस्तो अप्सन आयो भने तपाई सचेत हुनुपर्छ । साथै, यस्तो एटीएम प्रयोग गर्नबाट पनि सक्दो बच्नुहोस् ।