काठमाण्डौ । कोरोना भाइरसका कारण नेपालभन्दा धेरै गुणा बढीले प्रभावित अफ्रिकन मुलुक घानाले स्वास्थ्य परीक्षणलाई तीव्र पारिएको उल्लेख गर्दै गरीब र सीमान्तकृत जनताको अवस्था नाजुक बनेको भन्दै ३ सातादेखि जारी लकडाउन आफ्ना दुई शहरमा खोल्ने निर्णय गरेको छ । 

त्यहाँका राष्ट्रपति नाना अकूफो अड्डाले यस्तो घोषणा गरेका सिएनएनले जनाएको छ । 

पश्चिमी अफ्रिकन देश घानाका आक्रा र कुमासी गरी देशकै ठूला दुई शहर खोल्ने निर्णय गरिएको हो । राष्ट्रपति अड्डाकाअनुसार ती दुई ठूला शहरमा नागरिकहरु काममा जान सक्नेछन्, तर सामाजिक दूरीको नियम पूर्ण पालना गरेर मात्रै । 

आइतबार राष्ट्रपतिले एक टेलिभिजन सम्बोधनमार्फत लकडाउनलाई पूर्ण रुपमा नखोलिएको उल्लेख गर्दै सार्वजनिक स्थलमा मानिसहरु जम्मा हुन अझै पाइनेछैन भने स्कूलहरु पनि तत्काल खुल्ने छैनन् । 

उनले आफ्ना नागरिकलाई घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत आह्वान गरेका छन् । यस्तै, सार्वजनिक ठाउँहरुमा पर्याप्त मात्रामा सामाजिक दूरी कायम राख्न पनि आग्रह गरेका छन् । 

हालसम्म घानामा कोरोना भाइरसबाट १ हजार ४२ व्यक्ति संक्रमित भएका छन् । हालसम्म यहाँ ९ संक्रमितको मृत्यु भइसकेको छ । 

हालसम्म यहाँ ६८ हजार बढीको नमूना परीक्षण भइसकेको छ । १८ हजारको नमूना परीक्षण रिपोर्टको यो देशले प्रतिक्षा गरिरहेको समेत समाचारमा उल्लेख गरिएको छ । 

घानाले पछिल्लो समय लकडाउनकै बीच पनि परीक्षणको क्रमलाई तीव्र पारेको थियो । दुर्गम क्षेत्रहरुबाट समेत ड्रोनको मद्धतले संकलन भएका नमूनाहरु चाँडोभन्दा चाँडो ल्याबसम्म पुर्याउने काम हुँदै आएको छ । 

त्यहाँका अधिकारीहरुले संभावित कोरोना प्रभावित क्षेत्रहरुको बेलैमा पहिचान गरी परीक्षणलाई तीव्र पारेका कारण समेत त्यहाँ कोरोना संक्रमण भयावह नबनेको र त्यो नियन्त्रणमा आउन थालेको बताइएको छ ।