►प्रकाश बञ्जारा
यूएई । आफूलाई कहिले राजोन दास त कहिले अञ्जान दासको नामले चिनाउने सुनसरीका राजन भनिने एक युवाले दुवईको अल्डो ग्रुपमा  भिषा निकालिदिने र काम लगाइदिने भन्दै आफूहरुको पैसा लिएर सम्पर्क टुटाएको भन्दै पीडितहरुले हार गुहार गरेका छन् । 
राजनले आफू अल्डो ग्रुपको स्टोरमा सेल्सको काम गर्ने स्टाफ भएको र आफ्नो बोसलाई भनेर अन्तर्वार्ताबिनै सेटिङ्गमा काम मिलाइदिने भन्दै नेपालीहरुबाटै लाखौँ रुपैया असुलेको घटना बाहिर आएको हो।
पीडकले अल्डो ग्रुपको स्टोर अगाडि फोटो खिचेर आफूलाई अल्डो ग्रुपको स्टाफ भनेर चिनाउन खोजेको भएता पनि अल्डोमै काम गर्ने अर्को सूत्र अनुसार त्यो नाम गरेको कोही पनि नेपाली अल्डोमा काम गर्दैनन् । राजनले आफ्नो नाम परिवर्तन गरी बिभिन्न नामबाट ५ वटा भन्दा बढी फेक फेसबुक आईडी बनाएको खुलेको छ भने उनको वास्तविक थर के हो भन्ने कुरा अझै प्रमाणित हुन सकेको छैन ।
उनीबाटै ठगिएका एक युवाले राजनलाई बारम्बार राजन परियार नामको सिदार्थ बैंकको खातामा पैसा हालिदिएको र अर्का पीडितले राजन परियारका नाममा युएईबाट जारी भएको युएईको पर्यटक भिषाको कपी बिजशालालाई उपलब्ध गराएका छन् । यसको आधारमा भने उनको पुरा नाम राजन परियार नै हो कि भन्ने आशँका गर्न सकिन्छ ।
तथापि बिभिन्न व्यक्तिलाई अलग अलग नामबाट कामको आशा देखाउँदैँ पैसा लिएको हुनाले उनको नाममा शँका उत्पन्न भएको हो ।
पीडकले सोझासाझा र युएईको बारेमा कम जानकारी भएका नेपालीलाई ४ हजार देखि ५ हजार दिरामसम्म तलबको काममा भिषा निकालिदिने भन्दै बिभिन्न व्यक्तिबाट १० लाख भन्दा माथि पैसा लिएको रहस्य खुलेको छ । पीडितहरुले बताएअनुसार उनले कहिले यो प्रक्रिया नपुगेको त कहिले त्यो प्रक्रिया नपुगेको भन्दै झुलाउने गरेका थिए । पीडकले आफू जोगिन पछिल्लो समयमा कहिले झापा कहिले सुनसरी त कहिले भारतको बैंकमा विभिन्न व्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउने गरेको तथ्य समेत फेला परेको छ ।
राजनकै आदेशमा बिभिन्न समयमा बिभिन्न व्यक्तिका नाममा पैसा पठाएको रसिद पीडितहरुले हामीलाई उपलब्ध गराएका छन् । प्रारम्भिक सूचनाका आधारमा उनले ५ वटा फरक फरक नामका फेसबुक आईडी बनाएर फेसबुककै माध्यमबाट फरक फरक व्यक्तिलाई कामको आश्वासन दिँदै ठग्ने गरेको खुलेको छ भने बाँकी कतिवटा आईडी छन् भन्नेबारे अझै यकिन भइसकेको छैन ।
अल्डो ग्रुपको सेल्स स्टाफ बताउने राजन परियारको नाममा सन् २०१७ मार्च ८ तारिख जारी भएको पर्यटक भिषा हामीलाई प्राप्त भएको छ, तर हाल उनी कुन कम्पनीमा के काम गर्छन् भन्ने आधिकारीक प्रमाण प्राप्त हुन सकेको छैन । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार उनी अझै पनि पर्यटक भिषामा बरदुवई एरियामा बस्ने गर्छन्, तथापि राजनले आफूले पैसा लिएका सबै पीडितसँगको सम्पर्क टुटाइसकेका छन् । फेसबुकबाट व्लक गरेका छन् भने उपलव्ध गराएको मोवाइल नम्बर स्वीचअफ गरेका छन् ।
कसरी भयो ठगीको पर्दाफास ?
काठमाण्डौ घर बताउने किरण लामालाई अल्डो भन्ने कम्पनीको नाम नै थाहा थिएन । त्यसै क्रममा चिनजान भएका आफूलाई राजोन दास भनेर परिचय गरेका युवाले अल्डो एकदमै ठूलो र राम्रो तलव दिने कम्पनी भएको र आफू त्यहाँ काम गर्ने बताए । उनले आफ्नो परिचय मात्र दिएनन् आफूलाई बोसले भिषा दिने भएकाले बिनाअन्तर्वार्ता ४ हजार ५ सय दिरामको काम मिलाईदिने बताए । राम्रो सेल्सको काम र उत्तिकै आकर्षक तलव पाउने भएपछि आकर्षित भएका किरणले राजोनको कुरामा तुरुन्त विश्वास गरे र उनकै आग्रहमा मार्च १२ तारिख २०१८ मा एनएमबि बैंक चावहिल शाखाबाट भीमबहादुर कामीको नाममा नेपाली रुपैयाँ ७२ हजार जम्मा गरिदिए । 
किरणसँगै कामको खोजीमा रहेका दुवईमा काम गर्दै रहेका अर्का युवा मिलन योञ्जनले पनि राजोनकै आग्रहमा बिभिन्न व्यत्तिmको नाममा २ पटक जम्मा २५ सय दिराम अर्थात नेपाली लगभग ७५ हजार रुपैयाँ बुझाए । पैसा दिएपछि पनि काममा आज र भोलि भन्दै बाहानामा टार्न थालेपछि किरणलाई आफू ठगिएको महशुस हुन थाल्यो । उनले राजनलाई काम नभए पैसा फिर्ता दिन आग्रह पनि गरे, तर राजोनले केही सुरसार नै गरेनन् । बरु पैसा दिने, तर कुरालाई बाहिर नल्याउन धम्की दिइरहे । अन्तमा किरणले अरु नठगिउन भनेर सामाजिक सञ्जालमा राजोनको तश्विर सहित ठगीबाट जोगिन सजग गराउँदै पोष्ट गर्न भ्याए ।
नेपाली इन युएई फेसबुक पेजमा किरणले सेयर गरेको पोष्ट रिभ्यु गर्ने क्रममा ग्रुपका एडमिनले घटनाको प्रकृतिबारे जान्न खोजे र बिजशालालाई खबर गरे ।
घटनाको भित्रसम्म पुग्न हामीले पीडितको विवरण लिन थाल्यौँ । प्राप्त जानकारी अनुसार राजोनले पैसा लिइसकेपछि कहिले श्रम हुँदैछ भन्दै त, कहिले फलानो मितिमा भिषा निस्किन्छ भन्दै टार्दै गरेका रहेछन् । कतिलाई त पत्याउनै नसकिने गरी दुवई आइसकेपछि पनि २ बर्षसम्म मेडिकल नै नगर्ने गरी सेटिङ्ग गर्न लागेको समेत बताएका छन् ।
कतिलाई त नक्कली फ्लाईट टिकट देखाएर समेत झुक्काउने गरेको पीडितले गुनासो पोखेका छन् । दुवईमै भएका नेपाली युवतीहरुलाई समेत यी युवाले पैसा लिइसकेपछि नयाँ भिषा निकाल्न पुरानो भिषा क्यान्सिल भएको कागज चाहिएको भन्दै भिषा क्यान्सिल गर्न लगाएर विजोग बनाएको समेत पाइएको छ ।
युएईको सारजाहामा क्लिन्को क्लिनिङ्ग सर्भिस नामको सप्लाई कम्पनीमा काम गर्ने ३ जना सुनसरीको दुहवीकी सानु श्रेष्ठ, चितवनकी शोभा कँडेल र अर्की पुस्पा राई पनि राजोनको फन्दामा परेर ठगिएका छन् । यी मध्ये सानु श्रेष्ठ र पुष्पा राईलाई पैसा लिइसकेपछि भिषा निकाल्न क्यान्सिल पेपर चाहियो भन्दै रिजाइन गर्न लगाएर आफू सम्पर्कविहीन बनेको पाइएको छ ।
भिषा क्यान्सिल गरेपछि नयाँ भिषाको आशामा बस्दा बस्दै लामो समय बसेको भएर ओभरस्टेको जरिवाना समेत तिरेर आफू नेपाल फर्किएको सानुले बिजशालासँग गुनासो गरिन । अर्की चेली पुष्पा राईले पनि सानुलाई जस्तै भिषा क्यान्सिल पेपरको बहानामा पीडकले विचल्ली बनाएको खबर हामीलाई प्राप्त भएको छ । पुष्पाले अल्डोमै सेल्सको काम पाउने आशामा २ हजार दिराम अर्थात ६० हजार रुपैँया गुमाएकी छिन् । उता ३ मध्येकि एक चितवनकी शोभा कँडेल भने हाल युएईमै छिन् ।
शोभाले २ पटक गरेर २५ सय दिराम अर्थात नेपाली झण्डै ७५ हजार रुपैँया राजनलाई बुझाइन । राजनकै आग्रहमा शोभाले त्यो पैसा सन्जिभ कुमार नाम गरेको व्यक्तिको नाममा स्टेट बैँक अफ ईन्डियाको खातामा जम्मा गरिदिएकि थिइन ।
यता, सुनसरीका अनिल अधिकारीले दुवई मरिनाको वाइव्लस होटलमा आउन भनी राजनलाई डेढ लाख रुपैयाँ बुझाएका छन् ।अरुलाई बिभिन्न व्यक्तिको नाममा फरक फरक ठाउँमा पैसा जम्मा गरिदिन भनेको भए पनि अनिलले भने सिद्धार्थ बैंकमा रहेको राजन परियारको नाममा पैसा जम्मा गरेका छन् ।
अनिलसँगै अन्य २ जनालाई पनि उनले ठगेको खुलेको छ । तर जम्मा कति जना ठगिए भन्ने कुराको अझैसम्म पनि एकिन भइसकेको छैन ।
पीडितहरु अहिले एकजुट भएर कानुनी उपचारका लागि सरकारी निकाय धाउने क्रममा रहेको बताएका छन् । उनीहरुले फेसबुक म्यासेन्जरमा ग्रुप नै बनाएर ठगिनेहरुको तथ्यांक सँकलन गरिरहेको पीडित किरण लामाले बताए । सबै विवरण सँकलन गरेर सरकारी निकायमा जाने र न्यायको खोजी गर्ने लामा बताउँछन् ।
ठगी गर्ने मान्छे युएईमा रहेकाले केही सहयोग मिल्छ कि भनेर गैरआवासीय नेपाली सँघ युएईका अध्यक्ष रमेश श्रेष्ठलाई सहयोगको आशासहित घटनाको बारेमा म्यासेज गरेको भए पनि जवाफ नपाएको सामाजिक अभियन्ता महेश थापा बताउँछन् । नेपाली ईन युएई फेसबुक ग्रुपका एड्मिन समेत रहेका थापाकै सहयोगमा बिजशालाले यो रिपोर्ट तयार पारेको हो ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19