काठमाण्डौ । नेपाल बैंक लिमिटेड र सामाजिक सुरक्षा कोष (सासुको) बीच सहकार्यसम्बन्धी सम्झौता सम्पन्न सम्पन्न भएको छ ।

यस सम्झौतामा सामाजिक सुरक्षा कोषमा आवद्ध  भएका रोजगारदाताहरुले आफ्ना श्रमिकको आधारभुत पारिश्रमिकको ११ प्रतिशत र आफनोतर्फबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम नेपाल क्लियरिङ हाउसमार्फत बैंकका अनलाइन विद्युतीय भुक्तानी प्रणालीमा जोडिएका सबै शाखाहरुबाट प्राप्त गरी नेपाल बैंक लिमिटेडको काठमाण्डौ बैकिङ कार्यालयमा कोषको नाममा खोलिएको कल खातामा एकिकृत रुपमा जम्मा गर्ने तथा कोषको निर्दशनानुसार खर्च वा रकमान्तर गर्न सकिनेलगायतका प्रावधान रहेका छन् । बैंकले कोषलाई यस खातामा परिवर्तित ब्याजदरअनुरुपको ब्याज, खाताको विवरण अनलाइन हेर्न मिल्ने तथा इ बैकिंग एवं मोबाइल बैकिङ कारोबार गर्न मिल्नेलगायतका सुविधा कोषलाई उपलव्ध गराउने छ ।

बैंक र कोषबीच हालै सम्पन्न यससम्वन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक संक्षिप्त कार्यक्रमका बीच हस्ताक्षर गर्नुभयो । यस कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मणप्रसाद पौडेल र कोषका लेखा प्रमुख अनुपमा कार्की समेत उपस्थित हुनुहुन्थ्यो  ।

नेपालको बैकिंग उद्योगमा अगुवा बैंकका रुपमा रहेको र देशका अधिकांश जिल्लामा शाखा संजाल रहेको बैंक र हालका दिनमा कारोवारलाई वृहत पार्दै लगेको कोषबीच भएको यस समझदारीबाट बैंक र कोष दुवैको कार्य संचालनमा प्रभावकारिता बढ्ने र कोषको समुचित परिचालन भई सबै सरोकारवाला लाभान्वित हुने अपेक्षा लिइएको छ ।