काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारणसभामा दुई सेयरधनीहरुबीच कुटाकुट भएको छ ।

काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा साधारणसभा चलिरहँदा दुई सेयरधनीहरुबीच कुटाकुट भएको हो । सभा सेयरधनी चन्द्रनारायण श्रेष्ठ र शिवप्रसाद पौडेलबीच आपसमा मुक्का हानाहान भएको थियो ।

सभामा सुरुमा चन्द्रनारायण आफ्ना भनाइ राखेका थिए । त्यसपछि शिवप्रसाद भनाइ राखेका थिए । शिवप्रंसादले आफ्ना भनाइ राख्ने क्रममा आफूलाई होच्याएको भन्दै आक्रोशि बनेका चन्द्रनारायणले शिवप्रसादमाथि खनिएका थिए । त्यही क्रममा दुवैबीच केहीबेर कुटाकुट भएको हो । 

चन्द्रनारायण र शिवप्रसाद आपसमा कुटाकुटा गर्न थालेपछि सभाहल केहीबेर तनावपूर्ण बनेको थियो । स्थिति साम्य पार्न मञ्चमा आसिन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे आफैँ सेयरधनीहरु बसिरहेको ठाउँमा पुग्नुपरेको थियो । पाण्डेले कुटाकुटमा उत्रिएका सेयरधनीहरुलाई सम्झाएपछि स्थिति साम्य बनेको थियो ।

अहिले बैंकको साधारणसभा निर्वाध रुपमा चलिरहेको छ ।