काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल एसबीआई बैंक लिमिटेडको खुद नाफा १०.१५ प्रतिशतले घटेको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिसम्म १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

तेस्रो त्रैमासम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ४ करोड रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिसम्म २ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १३ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३५ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा भने ९१.१४ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म १ अर्ब १७ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको समीक्षा अवधिसम्म १० करोड ४३ लाख रुपैयाँमात्र सीमित बन्न पुगेको छ। 

यो त्रैमाससम्म बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ९७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकको रिजर्भ ३४.१८ प्रतिशतले बढेको छ। गत वर्ष ३ अर्ब ८५ करोड रुपैयाँ रहेको रिभर्जमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। 

बैंकको निष्क्रिय कर्जा दर ०.१९ प्रतिशत र आधार दरमा ९.८६ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.४१ रुपैयाँ रहेको छ भने पीई रेसियो १९.२४ गुणा रहेको छ।