काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय आफ्ना वित्तीय परिसूचकहरुमा तीव्र सुधार गरिरहेको छ । केही समय खस्किएको यो जीवन बीमा कम्पनीको वित्तीय अवस्था पछिल्ला दिनमा पुनः आकर्षक बन्न थालेका हुन् । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले खूद नाफालाई बढाएर ४६ करोड ६५ लाख माथि पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिका कम्पनी १९ करोडभन्दा बढीले घाटामा रहेको थियो । 

कम्पनीका अन्य मुख्य सूचकहरुमा पनि सुधार देखिएको छ । 

समीक्षा अवधिमा नेपाल लाइफले २६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २५ अर्ब ९९ करोडमा सीमित थियो । 

लगानी, कर्जा तथा अन्यबाट हुने आयमा निकै सुधार भएको कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा ६ अर्ब ४७ करोड यस्तो शीर्षकमा आम्दानी गरेको कम्पनीले यो वर्ष भने ९ अर्ब २४ करोड माथिको आम्दानी गर्ने सफलता पाएको छ । 

समीक्षा अवधिमा नेपाल लाइफले बीमालेखको धितोमा कर्जाबाट १ अर्ब ३७ करोड आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी १ अर्ब ७४ करोडभन्दा बढी थियो । 

यो अवधिमा कम्पनीले ११ अर्ब ८२ करोडभन्दा बढी दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १० अर्ब ६० करोड बढी दाबीभुक्तानी गरेको थियो । 

कम्पनीले विभिन्न शीर्षकमा हुँदै आएको खर्च समेत घटाएको देखिन्छ । खूद सेवाशुल्क, व्यवस्थापन लगायतका खर्च समेत घटेको देखिएको हो । 

कुल ८ अर्ब २० करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडाकोषको आकार बढेर ४८ करोड ६७ लाख माथि पुगेको छ भने जीवन बीमा कोषको आकार बढेर १ खर्ब ५७ अर्ब १६ करोड माथि पुगेको छ । जीवन बीमा कोषको आकार अघिल्लो आ.ब.को सोही अवधिमा १ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म ७२ करोड १८ लाखमा सीमित कम्पनीको महाविपत्ति कोष जगेडा बढेर ८३ करोड ३७ लाख माथि पुगेको छ । 

कम्पनीको तेश्रो त्रैमाससम्मको लेखापरीक्षण नभएको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, पीई अनुपात ९३.१९ गुणा र औसत प्रतिफलदर १०.८४ प्रतिशत रहेको छ ।