काठमाण्डौ । हाल भइरहेका भित्री तयारीअनुसारकै घटनाक्रमको विकास भए नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले आफ्नो इतिहासमै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पाउनेछ । 

नेपाल बैंक लिमीटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर अधिकारीको कार्यकाल असोज दोश्रो साता सकिँदैछ । त्यसपछि रिक्त रहने प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पदमा महिला पात्रको उदय हुने सम्भावना बढेको हो । 

नेपाल बैंकमा व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत(सीइओ)ले गर्न थालेपछि कुनै पनि महिलाले यो अवसर पाएका छैनन् । 

२०५८ सालमा भवानीदेवी शर्माले महाप्रबन्धकको रुपमा १५ दिन बैंक हाकेकी थिइन् । बासुदेवराम जोशीको पालादेखि बैंकको व्यवस्थापकीय नेतृत्वमा प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पद सिर्जना गर्न थालिएको थियो । त्यसपछि हालसम्मको करिब २२ वर्षको इतिहासमा ८ जना सीइओको रुपमा नियुक्त भइसकेकोमा पहिलोपटक महिला सीइओको उदय हुने परिस्थिति बन्न लागेको हो । 

हाल नेपाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत(डीसीइओ)को रुपमा समता पन्त(भट्ट) कार्यरत छिन् । सीइओ अधिकारीको कार्यकाल समाप्तिपछि असोज अन्तिम सातादेखि नै समता पन्तको बैंक नेतृत्वमा उदय हुनसक्ने सम्भावना बलियो बन्दै गएको स्रोतहरुले दाबी गरेका छन् । 

नेपाल बैंकको सञ्चालक समितिका सदस्यहरुकाअनुसार बैंकको आगामी सीइओको रुपमा पन्त नै निर्विकल्प पात्रको रुपमा देखिएकी छिन् । ‘पन्तको विषयमा अर्थमन्त्रालय पनि निकै सकारात्मक देखिएको छ ।’ एक सञ्चालकले भने–‘अर्थमन्त्री ज्यू स्वयम् पनि नेपाल बैंकमा पहिलो महिला सीइओको इतिहास बनाउनुपर्छ भन्ने कुरामा सकारात्मक देखिनुहुन्छ । राष्ट्रबैंकमा पनि पन्तको विषयमा सकारात्मक माहौल छ ।’

पन्त नेपाल बैंककै क्याडर हुन् । वि.स २०६१ सालमा उनी नेपाल बैंककै छैठौं तहको कर्मचारीको रुपमा प्रवेश गरेकी थिइन् । तुलनात्मक रुपमा छोटो समयमै उनी नेपाल बैंकको डीसीइओ बन्न सफल भएकी महिला हुन् ।

पन्तका पति भने नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशक हुन् । उनका पति ऋषिकेश भट्ट राष्ट्रबैंकको एसेट र सर्भिस म्यानेजमेन्ट डिपार्टमेन्टको नेतृत्व गरिरहेका छन् ।