काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १ गतेदेखि बालबालिका सम्बन्धी बीमालेख बिक्री गर्न बन्द गरेको छ । 

कम्पनीले बिक्री गर्दै आइरहेको बालबालिका सम्बन्धी नौलो केटाकेटी जीवन बीमा (५५) बिक्री गर्न बन्द गरेको हो ।  बीमा प्राधिकरणले कम्पनीलाई बालबालिका सम्बन्धी सबै जीवन बीमालेखहरु बिक्री गर्न प्रतिबन्ध लगाएपछि कम्पनीले आजदेखि उक्त बीमालेख बिक्री बन्द गरेको कम्पनीले जनाएको छ । 

‘प्राधिकरणको निर्देशन बमोजिम आजदेखि नौलो केटाकेटी जीवन बीमा बिक्री गर्न बन्द गरेका छौं, सबै शाखाहरुमा समेत नोटिस पठाइसकेको छ’, कम्पनीका एक अधिकारीले भने, ‘प्राधिकरणले बालबालिका सम्बन्धी पोलिसी बिक्री गर्न बन्देज लगाएपनि अब पुनः जीवन बीमालेख निर्देशिकाको अधिनमा रहेर बालबालिका सम्बन्धी अर्को नयाँ प्रोडक्ट लन्च गर्नेछौं ।’

कम्पनीले जीवन बीमालेख निर्देशिका, २०७९ को पालना नगरेपछि प्राधिकरणले बालबालिका सम्बन्धी सबै जीवन बीमालेखहरु बिक्री गर्न प्रतिबन्ध लगाएको थियो । प्राधिकरणले निर्देशन दिए बमोजिम कम्पनीले  बीमालेख बन्द गरेको हो । प्राधिकरणका अनुसार अब नेपाल लाइफले नौलो केटाकेटी जीवन बीमा (५५) पुनः प्रचलनमा ल्याउन पाउने छैन । 

प्राधिकरणले यसअघि नेपाल लाइफसहित सबै जीवन बीमा कम्पनीलाई बीमालेख निर्देशिका, २०७९ को प्रावधान अनुसार बालबालिका सम्बन्धी प्रावधानहरु परिमार्जन गरेपछि मात्रै प्रचलनमा ल्याउन पाउने भन्दै परिपत्र गरेको थियो ।