काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ६२ करोड ७३ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २३.६२ प्रतिशतले घटेको छ।

बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रहेको छ। अघिल्लो वर्ष १ अर्ब ६३ करोड रुपैयाँ थियो।

यो त्रैमासमा बैंकले ६८ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २३.८४ प्रतिशतले कम हो। अघिल्लो वर्ष सञ्चालन मुनाफा ८९ करोड ३४ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २९ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ६.४६ प्रतिशतले बढेको छ। 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर २.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.३६ प्रतिशतमा सीमित थियो। 

एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ९ करोड रुपैयाँ थियो।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६ प्रतिशतले बढेर ७ अर्ब ४२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७ अर्ब रुपैयाँ रहेको थियो। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.९४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २४.८० रुपैयाँ रहेको थियो। पीई रेसियो १६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८२.६९ रुपैयाँ रहेको छ।