काठमाण्डौ । सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्समा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका संस्थापक सेयरधनीहरुको संख्या नौ पुगेको छ । 
 

कम्पनीमा संस्थापक समूहतर्फको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ४९ प्रतिशत छ । गत वर्ष संस्थापकको ५०.८७प्रतिशत र सर्वसाधारणको ४९.१३ प्रतितश सेयर स्वामित्व थियो । 
कम्पनीले हालैमात्र ७५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार संस्थापक र सर्वसाधारण समूहतर्फको सेयर संरचना परिवर्तन भएको छ । 

 

प्रतिवेदन अनुसार कम्पनीमा संस्थापकतर्फको कुल सेयर संख्या ७६ लाख २३ हजार ३०४ कित्ता र सर्वसाधारणको कुल ७३ लाख २४ हजार ३५० कित्ता गरी कुल १ करोड ४९ लाख ४७ हजार ६५४ कित्ता छ । 
 

कम्पनीमा एक प्रतिशत वा सोभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीको संख्या नौ छ । कम्पनीमा सबैभन्दा बढी लगानी नेपाल बैंक लिमिटेडको छ । नेपाल बैंकको मात्रै १५ प्रतिशत अर्थात् २२ लाख ४७हजार ८३८ कित्ता सेयर स्वामित्व छ । 
 

त्यस्तै, युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रालिको सात प्रतिशत अर्थात् १० लाख ४२ हजार ८२ कित्ता सेयर स्वामित्व छ । यसका साथै भोजराज जोशीको पाँच प्रतिशत अर्थात् ८ लाख २ हजार ९७७ कित्ता छ । 
 

आइएमई ग्रूपअन्तर्गत आइएमई होल्डिङ प्रालि, आइएमई इन्भेष्टमेन्ट प्रालि र आइएमई लिमिटेडले भने लगानी घटाएका छन् । अघिल्लो वर्ष पाँच प्रतिशतका दरले लगानी रहेको यी तीन संस्थापकको लगानी गत वर्ष चार प्रतिशतमात्रै कायम छ । 
 

अघिल्लो आवसम्ममा ७ लाख १९ हजार २०५ कित्ता सेयर स्वामितव रहेको आइएमई ग्रूपको लगानी गत वर्ष एक प्रतिशतले घटेर ६ लाख ४९ हजार ५१३ कित्ता कायम भएको छ । 
 

साथै लाइफ केयर डिस्ट्रिब्यटर्स प्रालिको तीन प्रतिशतका दरले ५ लाख २१ हजार ४२ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको दुई प्रतिशतका दरले २ लाख ५९ हजार ३१५ कित्ता सेयर स्वामित्व छ ।