 
                     
                                Photo : reuters
 
                                    काठमाण्डौ । हाम्रो शेयर बजार अनौठो प्रकृतिको छ । देशका समग्र आर्थिक सूचकहरु ओरालोको निरश यात्रामा रहेको बेला शेयर बजार परिसूचक भने ठीक उल्टो, अर्थात उकालोतर्फ दौडिरहेको छ । नेप्से परिसूचक १५०० अंक नजिक पुग्न लागे पनि अर्थतन्त्रमा यो किसिमको सुधारको संकेत देखिएको छैन । विश्वमै स्थापित मान्यता हो ‘कुनै पनि देशको शेयर सूचक सो देशको अर्थतन्त्रको ऐना हो’, तर नेपालको सन्दर्भमा शेयर परिसूचक समग्र अर्थतन्त्रको ऐना बन्न नसकेको बिषयमा विज्ञहरुको मत समेत बाझिदै आएको छ । देशको आर्थिक सूचक नकरात्मक उन्मुख भइरहेको बेला मात्र होइन, पूरा एशियाको बजार नै ओरालो लागेको बेला नेपालको शेयर बजारमा भने सुखद संकेतहरु देखिरहेका छन् ।
एशियाको बजार ओरालोतर्फ
साताको पहिलो सत्रको कारोबारमा एशियाको बजारले भारी गिरावटको सामना गर्नुपरेको छ । जापानको शेयर बजार सूचक निक्केई  ६ सय अंकले ओर्लिएर १६०६४ अंकमा आइपुगेको छ । अमेरिकी डलरसँग जापानको मुद्रा, येन मजबुत बन्दै गएका कारण निकै ठूला निर्यातकर्ता कम्पनीको शेयर मूल्य समेत भारी मात्रामा घटिरहेको छ । यसकै कारण एशियाका प्राय सबै बजारमा शेयर बजार सूचक ओर्लिने क्रम जारी छ । 
चीनमा समेत शेयरबजारमा गिरावट नै देखिएको छ । चीनको शेयर बजार सूचक संघाई ०.५० प्रतिशत घटी २९३८ अंकमा आइपुगेको छ । हङकङको बेञ्चमार्क इण्डेक्स(शेयर सूचक) हेङसेङमा ३५० अंकको गिरावट आई २१०६७ अंकमा आइपुगेको छ । यस अलावा दक्षिण कोरिया र ताइवानको इण्डेक्समा पनि ०.५ प्रतिशतको गिरावट आएको छ ।
नेप्से र एशियाको कनेक्सन
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक चाहि एशियाका विभिन्न देशका शेयरबजार परिसूचक भन्दा ठीक विपरीत उछालको यात्रा गरिरहेको छ । हरेकदिनजसो बुलिस टे«ण्डमा कुदिरहेको नेप्से एशियामा देखिएको भारी गिरावटबाट प्रभावित हुन्छ कि हुँदैन ? शेयर बजार विश्लेषक रविन्द्र भट्टराईका अनुसार नेपालको शेयर बजारको एशियाको शेयर बजारसँग कुनै सम्बन्ध नै हुँदैन । ‘सम्बन्ध नरहेकै कारण एशियाको समग्र बजार निरश भए पनि नेपालको शेयर बजार चाहि उत्साहप्रद बन्दै गएको हो ।’ उनले भने–‘एशिया वा विश्वको शेयरबजारसँग कनेक्सन हुने र त्यहाँको बजारबाट प्रभाव पर्ने गरी हाम्रो अर्थतन्त्र विशाल र वृहत हुन सकेको छैन ।’ उनका अनुसार नेपालको अर्थतन्त्रका सूचकलाई सरकार तथा विज्ञ भन्नेहरुले समेत साँघुरो बनाएका कारण नेप्से परिसूचकले समग्र अर्थतन्त्रको विपरीत ध्रुवको परिणाम निकालिरहेको हो । ‘अर्थशास्त्रीहरुले अर्थतन्त्रको सूचक भनेर जीडीपी(कुल ग्राहस्थ्य उत्पादन)लाई मात्र लिने गरेका छन्, जुन कुरा गलत हो ।’ शेयर विश्लेषक भट्टराईले भने–‘जीडीपी बाहेक अन्य थुप्रै कुराहरु समेत अर्थतन्त्रका सूचक हुन्छन । जस्तो तरलता, ब्याजदर, शोधानान्तर बचत ।’ 
अर्थतन्त्रका अन्य सूचकतर्फ ध्यान नदिंदा 'एउटा हात नचल्ने भयो भन्दैमा जिउ नै नचल्ने भयो' भन्ने खालको हल्ला फैलाइने गरिएको उनको दाबी छ । ‘ब्याजदर घट्दो अवस्थामा रहनु शेयरबजारका लागि सकारात्मक भएको छ ।’ बजार निरन्तर बढिरहनुको कारण केलाउँदै भट्टराईले भने–‘तरलता अधिक हुँदा त्यसको असर परेको छ । शोधानान्तर बचतको अवस्था समेत सुखद नै छ । सरकारी नीति पनि बजारका लागि सकरात्मक नै छन् । यी सबै कारणले बजार उकालो लागिरहेको हो ।’
'अंक होइन, कम्पनी हेर्नुहोस्'
शेयर बजारमा दिनहुँजसो उछाल आइरहँदा धेरैले बजार एकैपटक अप्रत्यासित रुपमा कोल्याप्स पो हुने हो कि भन्ने शंका पनि गर्छन । नियामक नेपाल धितोपत्र बोर्डले समेत दुई दुईपटक लगानीकर्ताहरुलाई सम्हालिएर अगाडि बढ्न आग्रह गरिसकेको छ । कतिपय विश्लेषकहरुले शेयर बजारको अहिलको उछाल अप्राकृतिक भन्दै बजार जुनसुकै बेला ओर्लिएर लगानीकर्ता बर्बाद हुनसक्ने दाबी समेत गर्न छाडेका छैनन् । बजार निरन्तर उकालो लागिरहँदा लगानीकर्ताहरुले के कुरामा ध्यान पुर्याउनु पर्ला त ? लामो समयदेखि नेपालको शेयर बजारको समृद्धि, विकास र आधुनिकीकरणको पक्षमा वकालत गर्दै आएका शेयर विश्लेषक भट्टराईले समग्र नेप्से परिसूचक घटेको वा बढेको आधारमा मात्र शेयर खरीद वा बिक्रीको निर्णय नलिन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । ‘तपाईले समग्र इण्डेक्सलाई नहेर्नुहोस्, तपाईको कम्पनीको अवस्थातर्फ चाहि बढी ध्यान दिनुहोला ।’ उनले थपे–‘इण्डेक्स बढ्यो वा घट्यो भनेर उत्साहित हुने वा अत्तालिने होइन, कम्पनीको शेयर मूल्यतर्फको प्रगतिमा आँखा लगाउनुहोस् ।’ उनले अंक हेरेर नभई आफ्नो कम्पनीको अवस्था हेरेर सही समयमा सही निर्णय लिन सक्नुपर्नेमा जोड दिए । 
 
                            
                            
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19