काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार एक समारोहबीच सिभिल बैंक लिमिटेडको काठमाण्डौको भीमसेनस्थान शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा शिवाकोटीले नेपालबाट विदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आआफ्नो क्षेत्रबाट वित्तीय योगदान पुर्याएमा देश आफैँ समृद्ध हुने बताए ।

उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाइ तथा धन्यवाद दिए । उनले आफूले बैंकलाई आफ्नो तर्पmबाट भरपुर सहयोग गर्ने आश्वासन दिए । 

सोही अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले यस भेगको अर्थतन्त्र उकास्नका लागि व्यापार व्यवसाय, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिका लागि दत्तचित्त भएर काम गर्ने बताए । 

सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङले सिभिल बैंक समाजसँग निकट भएर सञ्चालन गर्ने नीतिअनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भएबमोजिम शाखाको परिचयपाटीदेखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृतिअनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए । 

सोही अवसरमा अध्यक्ष तामाङबाट परोपकार आदर्श माविको कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सीएसआर प्रोग्रामअन्तर्गत मासिक रु ३ हजारका दरले १ वर्षको जम्मा रु ३६ हजारको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे । उनले सोही वडाका ज्येष्ठ नागरिक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएका कारणले गर्दा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोलाबहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरी उनीबाट आशीर्वाद ग्रहण पनि गरिएको थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५हजारभन्दा बढी ग्राहक रहेको रु ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको देशभर १०६ वटा शाखा तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।