काठमाण्डौ । नेशनल लाइफ इन्स्योेरेन्सले खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा २३ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १६ करोड ९५ लाखमा सीमित थियो । 

यो जीवन बिमा कम्पनीले यो अवधिमा बिमा शुल्कबापत ४ अर्ब ७३ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५२ करोडमा सीमित थियो । पुनर्विमा कमिसनबाट २ करोड कमिसन आर्जन गरेको यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ९७ करोड ६९ लाख तथा बिमालेखको धितोमा कर्जाबाट १५ करोड ६१ लख आम्दानी गरेको छ । 

समीक्षा अवधिमा नेशनल लाइफले १ अर्ब ५५ करोड बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी १ अर्बको हाराहारीमा थियो । 

कम्पनीको बिमाशुल्कको कुल आर्जन ४ अर्ब ९७ करोड रहेको छ, यस्तो कमाई अघिल्लो वर्ष ३ अर्ब ७८ करोड थियो । समीक्षा अवधिसम्म यो कम्पनीको बिमा लेखको संख्या ८ लाख ७५ हजार ९१ रहेको छ । अघिल्लो वर्षसम्म यस्तो संख्या ६ लाख ९१ हजार ६ सय ४२ मात्र थियो । 

कम्पनीले अघिल्लो वर्षसम्म १४ अर्ब ५६ करोडमा सीमित जीवन बिमा कोष बढाएर १७ अर्ब ३७ करोडको उचाईमा पुर्याएको छ । यस्तै, महाविपत्ति जगेडाको रुपमा ९ करोड ४९ लाख रुपैयाँ राखेको छ । 

नेशनल लाइफको जगेडाकोषतर्फ पनि कमालको प्रगति भएको छ । अघिल्लो वर्षसम्म १६ करोड ६० लाख रहेको जगेडा कोषमा समीक्षा अवधिको अन्तसम्म ६१ करोड ३१ लाख जम्मा भएको छ । जगेडाकोषमा यो कम्पनीले २६९ प्रतिशतको फराकिलो फड्को मारेको हो । हाल यो जीवन बिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रहेको छ । 

यो अवधिमा नेशनल लाइफको प्रतिसेयर आम्दानी १७.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५३.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२९.३८ गुणा कायम भएको छ ।