काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइभ–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ। सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ। 

सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन्। यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो। 

दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो।

यो प्रतिस्पर्धामा चीनको हुवावेलाई पनि सहभागी हुन दिइएको थिएन। सन् २०१२ देखि नै हुवावेलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन। अमेरिकी कङ्ग्रेसले हुवावेका प्रविधि खरिद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ। 

पछिल्लो समय ट्रम्प प्रशासनले युरोपेली मुलुकहरुलाई पनि हुवावेका प्रविधि खरिद नगर्न दबाब दिइरहेको छ। गत फेब्रुअरीमा अमेरिकी महान्यायाधीवक्ता विलियम बारले युरोपेली कम्पनीहरु नोकिया र एरिक्सनमाथि हुवावेका प्रविधिमाथि पुनर्विचार गर्न चेतावनी दिनु भएको थियो। 

विश्व बजारमा अहिले उच्च गतिको फाइब–जी नेटवर्क निर्माणमा हुवावे मुख्य प्रतिस्पर्धी भए पनि अमेरिकी नीतिहरुका कारण हुवावेमाथि संकट देखिएको छ। - रासस/एपी