काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बिडेनले न्यूनतम ग्लोबल ट्याक्स निर्धारणका लागि कदम चालेका छन्।

ग्लोबल ट्याक्स प्रणालीलाई सुधार गर्ने बिडेन प्रशासनको महत्वाकांक्षी योजनाले महत्वपूर्ण परीक्षणको सामना गर्न गइरहेको छ। यसका लागि विश्वका शीर्ष अर्थतन्त्र भएका देशहरुको समर्थन जुटाउनका लागि अमेरिकाको ट्रेजरी सेक्रेटरी ज्यानेट एलेन शुक्रबार र शनिबार हुन गइरहेको जी–७ का वित्तमन्त्रीहरुको बैठकमा भाग लिन गइरहेकी छिन्। यसलाई अन्तर्राष्ट्रिय कर कानुनहरुलाई पुनर्लेखन गर्ने अमेरिकी कम्पनीहरुलाई विदेशबाट कमाई बुकिङ गर्नक लागि हतोत्साहित गर्ने बिडेन प्रशासनको प्रयासहरुको एक महत्वपूर्ण कदमका रुपमा लिइएको छ। 

रोयटर्सका अनुसार जी–७ का वित्तमन्त्रीहरुले अमेरिकाको यो योजनालाई समर्थन गर्ने अनुमान गरिएको छ। आउँदो साता जो बिडेनसहित जी–७ का देशका प्रमुखहरु बेलायतमा भेला भएपछि वासिङ्टनको योजनाले पूर्ण समर्थन प्राप्त गर्ने रोयटर्सले जनाएको छ। 

अन्तर्राष्ट्रिय प्रणालीका कमीकमजोरीहरुलाई सम्बोधन गर्नका लागि अमेरिकाको यूएस ट्रेजरीले गत महिना विश्वको न्यूनतम कर कम्तीमा पनि १५ प्रतिशत हुनुपर्ने प्रस्ताव गरेको थियो। न्यूनतम दरले कम्पनीहरुलाई कम कर तिर्नुपर्ने देशहरुमा आफ्नो मुनाफा लैजान हतोत्साहित गर्ने यूएस ट्रेजरीको दाबी छ। – एजेन्सी