काठमाण्डौ । अमेरिकी न्याय विभागले गत वर्ष ३.३६ अर्ब अमेरिकी डलर (झन्डै ४ खर्ब ४४ अर्ब रुपैयाँ)को बिटक्वाइन जफत गरेको घटनाको रहस्य खुलेको छ। यी बिटक्वाइन एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएका थिए।

एक ह्याकरको घरबाट ५० हजारभन्दा बढी बिटक्वाइनको यो भण्डार फेला परेको थियो । यसलाई भुइँमुनि बनाइएको लकरमा पपकर्नको बाकसभित्र विभिन्न यन्त्रमा लुकाएर राखिएको थियो।

जेम्स जोङले सन् २०१२ मा अवैध ‘सिल्क रोड’ वेबसाइटबाट ह्याक गरेको स्वीकार गरेका छन् ।

अमेरिकी अधिकारीहरुले यो इतिहासमा दोस्रो ठूलो बिटक्वाइन बरामद भएको बताएका छन्। जोङको जर्जियाको घरमा प्रहरीले एक वर्षअघि छापा मारेको थियो। तर, अहिले यो घटना सार्वजनिक भएको हो। 

छापामारी त्यतिबेला भएको थियो जब बिटक्वाइनको मूल्य उच्चस्तरमा थियो। जफत गरिएका बिटक्वाइनको मूल्य अहिले करिब १.१ अर्ब डलर अर्थात करिब १ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी छ।

प्रहरी अधिकारीहरुले ह्याकरको बाथरुममा बनाइएको लकरभित्र राखिएको सानो कम्प्युटरको हार्ड ड्राइभ र अन्य भण्डारण उपकरणबाट बिटक्वाइन फेला पारेको बताएका छन्। यो कम्प्युटर पनि पपकर्नको बक्समा राखिएको थियो।

जोङ येले सिल्क रोड वेबसाइटको भुक्तानी प्रणालीमा भएको त्रुटिको फाइदा उठाएर रकम चोर्न सफल भएको प्रहरीले जनाएको छ। सेप्टेम्बर २०१२ मा जोङले डार्कनेट मार्केटप्लेसमा आफ्ना केही खाता खोले र आफ्नो डिजिटल वालेटमा बिटक्वाइनको सानो रकम जम्मा गरे। यसपछि जोङले चाँडै धेरै पैसा झिक्ने यस्तो ट्रिक पत्ता लगाए ता कि कुनै शंका नहोस्।

सिल्क रोड पहिलो डर्कनेट मार्केटप्लेस थियो। यो वर्ष २०११ देखि २०१३ सम्म चलेको मानिन्छ।

यो लागूऔषध व्यापारी र अन्य अवैध कारोबारमा संलग्न व्यापारीले ठूलो मात्रामा अवैध लागूऔषध बेच्न प्रयोग गर्थे। गैरकानुनी मानिने सेवा र सामान पनि यसमार्फत धेरै प्रयोगकर्तालाई बेचिन्थ्यो।

डार्कनेट इन्टरनेटको एउटा भाग हो। जुन केही सफ्टवेयरद्वारा प्रयोग गर्न सकिन्छ। सन् २०१५ मा न्यायाधीशहरुको एक निर्णायक मण्डलीले सर्वसम्मतिले सिल्क रोडका संस्थापक रोस उलब्रिचलाई यो सञ्चालन गरेकोमा दोषी पाए र उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो।

जोङले नोभेम्बर ४ मा वेबसाइट ह्याक गरेको स्वीकार गरी आफ्ना बिटक्वाइन प्रहरीलाई बुझाएका थिए। अब उनलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ।

वकिल डेमियन विलियम्सले बिटक्वाइन पत्ता लगाउन प्रहरीले क्रिप्टोकरेन्सी ट्रयाकिङ प्रविधि प्रयोग गरेको बताए। ‘लगभग १० वर्षदेखि हराएका यी बिटक्वाइन ३.३ अर्ब डलरको रहस्य बनेर बसेको थियो’, उनले भने।

अमेरिकामा छापा मार्दा यति ठूलो मात्रामा क्रिप्टोकरेन्सी जफत भएको यो पहिलोपटक थियो। तर, यस वर्षको फेब्रुअरीमा ४ अर्ब डलरबराबरको बिटक्वाइनको अर्को चोरीको पर्दाफास भएको थियो। यी दुवै घटना अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुद्दा हुन्। –एजेन्सी