काठमाण्डौ । टाइप मिस्टेकको बाहानामा बजारमा चलखेल गर्न खोज्ने नेपाल इन्भेष्टमेन्ट बैंकमाथि कुनै कारबाही नगरी सो प्रकरणलाई सामसुम पार्न खोजिएको छ । 

नेपाल धितोपत्र बोर्डले ‘टाइप मिस्टेक प्रकरण’को प्रमुख दोषी नेपाल इन्भेष्टमेन्ट बैंकलाई पर्वको बाहानामा कुनै कारबाही नै नगरी उन्मुक्ति दिन खोजेको हो । 

इन्भेष्टमेन्ट बैंकले भदौ २१ गतेको उसको संचालक समितिको निर्णय भन्दै २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई लिखित जानकारी पठाएको थियो । त्यसैका आधारमा कैयन लगानीकर्ताहरुले सो बैंकको सेयर खरीदको निर्णय लिएर बजार प्रभावित भइसकेको अवस्थामा करिब ४५ मिनेटपछि बैंकले ‘टाइप मिस्टेक’ भएको भन्दै २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको चाहि निर्णय भएको भन्दै संसोधित सूचना सम्प्रेषण गरेको थियो । नेप्सेले पनि टाइप मिस्टेकको बाहानामा आएको दोश्रो पत्रलाई जस्ताको तस्तै प्रकाशित गरिदिएको थियो । यो बिषयले निकै ठूलो रुप लिएपछि धितोपत्र बोर्डले तत्काल छानबिन तथा कार्यबाहीको अन्य प्रक्रिया अगाडि बढाएको देखाए पनि मुख्य दोषी बैंकमाथि कुनै कारबाही नगरी उन्मुक्ति दिने प्रपञ्च रचिएको पाइएको हो । 

गलत सूचनाले बजार प्रभावित भएपछि यो प्रवृतिको सर्वत्र विरोध भएको थियो । सर्वत्र विरोधपछि धितोपत्र बोर्डले सोही दिन इन्भेष्टमेन्ट बैंकलाई ३ दिने स्पष्टीकरण सोधेको थियो । त्यस अवधिमा सिडिएससीलाई सो दिनको बैंकको कारोबार राफसाफ नगर्न निर्देशन दिएको थियो । सो बेला बैंकले पठाएको स्पष्टीकरणको आधारमा कारबाहीको निर्णय लिइने धितोपत्र बोर्डका जिम्मेवार अधिकारीहरुले बताएका थिए । तर, यो प्रकरणलाई ट्वीस्ट गरी दोष जति अरुमाथि थोपरेर बैंकलाई जोगाउने प्रपञ्च रचिएको पाइएको हो । 

इन्भेष्टमेन्ट बैंकले लिखित जवाफ पेश गरिसकेको अवस्थामा समेत बोर्डले ऊमाथि कस्तो कारबाही गर्ने निर्णय लिन सकेन, यसको एक मात्र कारण बैंक उच्च व्यवस्थापनको दवाब रहेको बोर्ड स्रोतले बताएको छ । बोर्डको एउटा पक्ष बैंकले स्पष्टीकरण दिएपछि सोही आधारमा यस्तो प्रवृतिलाई आगामी दिनमा निरुत्साहित गर्न समेत तत्काल केही न केही कारबाही गर्नुपर्ने पक्षमा थियो । तर, बोर्डका प्रवक्ता निरज गिरी, अध्यक्ष रेवत कार्की लगायत भने रातारात यूटर्न भई इन्भेष्टमेन्ट बैंकको पक्षमा उभिएका थिए । 

त्यसपछि नेपाल स्टक एक्सचेञ्जलाई सो दिनको बैंकको कारोबार रद्ध गर्न निर्देशन दिएसँगै यो प्रकरणलाई टुंग्याउन खोजिएको छ । सँगै, बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई समेत यो प्रकरणमा दोषी देख्दै सात दिने स्पष्टीकरण सोधेको थियो, जुन नाटकीय थियो । कारण, नेप्सेले भदौ २१ गते नै इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरणमा के भएको हो भनेर बोर्डलाई रिपोर्टिङ गरिसकेको थियो । ‘हामीले सोही दिन(भदौ २१ गते) धितोपत्र बोर्डलाई यथार्थ रिपोर्टिङ गरिसकेका थियौं ।’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने–‘त्यही दिन बैंकलाई समेत हामीले स्पष्टीकरण सोधेका थियौं ।’ 

नेप्सेका प्रवक्ताको यो भनाईले समेत बोर्डलाई सो प्रकरणमा नेप्सेको धारणा पुनः माग्नुपर्ने  कुनै आवश्यकता देखिन्न । तर, यो प्रकरणलाई लम्ब्याएर चाडपर्वको विदाको भुंग्रोमा पार्ने र यसलाई डिसमिस गर्ने रणनीतिमा बोर्डका केही अधिकारी खटिएका प्रष्टै बुुझ्न सकिन्छ । 

त्यति मात्र होइन, नेप्सेले दोहोर्याएरै भए पनि बोर्डलाई इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरणको बिषयमा स्पष्टीकरण दिएको केही दिनसम्म दशैंको विदा थिएन । तर, बोर्डले यो विषयमा फेरि पनि कुनै निर्णय गर्न सकेन वा चाहेन । यो कोणबाट हेर्दा समेत प्रकरणलाई लम्ब्याएर मुख्य दोषी इन्भेष्टमेन्ट बैंकलाई उन्मुक्ति दिने स्पष्ट योजना देखिन्छ । 

बोर्डका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा इन्भेष्टमेन्ट बैंकले ठूलै अपराध गरेको होइन भन्दै बोर्डको समेत सोही निश्कर्ष रहेको र ऊमाथि थप कारबाहीको कुनै आवश्यकता नरहेको आफूहरुको ठम्याई रहेको खुलाए । बैंकले अक्षम्य अपराध गरेको होइन, त्यो दिनको कारोबार रद्ध भइसकेको अवस्थामा अब बैंकमाथि कारबाही हुनुपर्छ भन्ने कुरा नै गलत हो । उनले भने ः बोर्डका अधिकांश अधिकारी यो बिषयमा कन्भिन्स छन्, बैंकमाथि कारबाही हुँदैन । 

तर, धितोपत्र कानूनका ज्ञाताहरुले भने यो प्रकरणको प्रमुख दोषी बैंक भएकोले आगामी दिनमा यस्ता प्रवृति नदोहोरिउन् भन्नका लागि समेत कानून अनुसार बैंकमाथि कारबाही हुनुपर्ने बताउँछन् । कानूनमा गलत सूचना दिएर बजार प्रभावित पार्न खोज्नेलाई नगद जरीवाना तथा जेल सजायसम्मको व्यवस्था छ । तर, बोर्ड भने नगद जरीवानासम्म गर्न समेत चाहिरहेको छैन । ‘बैंकका साथीहरुले यो प्रकरणले हामीले गुड्विलमा निकै ठूलो क्षति व्यहोरिसकेका छौ भन्नुुभएको रहेछ ।’ बोर्ड ती अधिकारीले भने–‘सामान्य कारबाही गर्दा समेत ठूलो बैंकको गुड्विलमा अझ ठूलो क्षति हुने देखिन्छ, त्यही भएर बोर्डबाट बैंकमाथि कारबाही होला भन्ने मलाई लाग्दैन ।’ 

हामीले यो बिषयमा धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीलाई सोधेका थियौ । उनले इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरण टुंगोमा नपुगिसकेको दाबी गरे । ‘नेप्सेले हालै स्पष्टीकरण पठाएको छ ।’ उनले भने–‘त्यसलाई हेरेर के कारबाही गर्ने भन्ने बिषयमा टुंगो लगाउँछौ, अब दशैंपछि मात्र यो प्रकरणमा कुरा हुन्छ ।’ उनले बैंकमाथि कारबाही गर्ने कि नगर्ने भन्ने बिषय समेत दशैंपछि मात्रै टुंगो लाग्ने बताए । गिरीले नै भदौ २१ गते हामीसँग कुरा गर्दै ३ दिनभित्रमा बैंकको स्पष्टीकरण आउने र त्यसका आधारमा तत्काल कारबाही गरिने बताएका थिए । तर, त्यसको २० दिनपछि पनि उनको बोली पुरानै देखिएको छ । यसले समेत बोर्डका अधिकारीको मिलेमतोमा इन्भेष्टमेन्ट बैंकलाई बिना कारबाही उन्मुक्ति दिन केही न केही खिचडी पकाइएको छ भन्ने कुरा बुुझ्न गाह्रो छैन ।