काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमका बीच आइतबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । 

सो कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको मन्त्रीले प्रंशसा समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै बैंककाअध्यक्षश्री रोशन के.सी.ले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफू र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाका लागि लकर घर निर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहकमा बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु संचालनमा छन् ।