-प्रकाश  बञ्जारा
युएई । नेपालमा प्रतिबन्धित नेटवर्क मार्केटिङ्ग डिएक्सएनबाट चाँडै धनी बन्न सकिने सपना यहाँ रहेका नेपालीहरुलाई बाँडिएपछि रेमिटान्सको रुपमा भित्रिनुपर्ने करोडौं रुपैयाँ  खाडीमै छाडिने गरेको तथ्य बाहिरिएको छ । 

मलेशियामा उत्पादित रातो च्याउबाट बनाइएका दैनिक जीवनमा आवश्यक पर्ने सामानहरु उत्पादन गरेर नेटवर्क मार्केटिङ्गमार्फत बिजिनेश गर्दै आएको डिएक्सएन अहिले खाडीमा दुःख गर्ने थुप्रै नेपालीले लिने नाम हो । 

क्रियाशील भएर अरुलाई आफ्नो कब्जामा पार्न सक्ने केहीले यसबाट राम्रो फाइदा लिने गरेको भएता पनि सानो तलबमा दुःख गरिरहेका लाखौं नेपालीहरु नराम्ररी ठगिने गरेका छन् ।

आफूले चिनेको साथीहरुबाट छोटो समयमै राम्रो नाफा हुने, चाँडै सफल व्यक्तिको सूचिमा परिने आश्वासन आउँदा कुरा काट्न नसकेर धेरैजसो नेपालीहरु यसको सदस्य बनी फस्ने गरेका पाइएको छ ।

“साथीले राम्रो उत्पादन हो, यसमा लागौँ, चाँडै बसी बसी डलर थाप्न सकिन्छ भन्दै सदस्य बन्न भन्यो । होला त नि भनेर सदस्य बनेको ३ बर्ष भयो, अहिलेसम्म कुनै चमात्कार भएन र साथीले भनेका कुरा पनि केही पूरा भएनन् ।” डिएक्सएनका सदस्य रहेका सल्यानका रमेश मिजारले बिजशालासँग भने । 

नेटवर्कको सदस्यता बापत करिब ३ सय युएई दिराम शुल्क दिनुपर्छ र त्यस बापत त्यही मूल्य बराबरको डिएक्सएनको कुनै प्रडक्ट पाइन्छ ।

“डिएक्सएनले दैनिक जीवनमा प्रयोग हुने दन्तमञ्जन, साबुन, कफी जस्तो सामान्य खालको सामानलाई गुणस्तरको नाम लिँदै ठूलो रकममा आफ्ना सदस्यलाई बेच्ने गरेको छ, जुन सामान्य नेपालीका लागि निकै महँगो हो ।” अर्का एक निरुत्साहित डिएक्सएन सदस्यले बिजशालासँग भने ।

कतिपयले त डिएक्सएनको उत्पादनलाई औषधिको रुपमा प्रयोग गर्न सल्लाह दिने गरेका छन् । मधुमेहको उपचार गरिरहेका नवलपरासीका कुशल थानेतलाई आफ्नै साथीले मधुमेह ठिक हुने भन्दै डिएक्सएनको उत्पादन लिन सल्लाह दिए । “आफू सदस्य नभएको हुनाले महँगो मूल्य हालेर केही समय डिएक्सएनको सामान प्रयोग गरेँ, केही नभएपछि भर्खरै खान छोडेँ, मेहेनतको थुप्रै पैसा बेकारमा खर्च भयो।” थानेतले भने ।

साथीहरुले सदस्य बन्न अनुरोध गरिरहेका र आफू त्यसमा लागेर “बिजिनेश” गर्न नसक्ने भनेर साथीलाई जवाफ दिएको झापा घर भई झण्डै ५ बर्षदेखि दुवईमा रोजगार गरिरहेका श्याम पोखरेलले बताए । 

धेरै नेपालीहरु नै क्रियाशिल भएको डिएक्सएनमा राम्रो आम्दानी हुने प्रलोभनमा परेर मासिक ८÷९ सय तलबमा काम गरिरहेकाहरु सदस्यता बढाउने र आफूलाई क्रियाशिल बनाउनकै निम्ति हरेक महिना लगानी थप गरी बाध्यताबस अनावश्यक सामानहरु खरीद गर्न बाध्य हुने गरेको गैरआवासीइ नेपाली संघ युएइका केन्द्रिय सदस्य ओमप्रकाश पोख्रेल बताउँछन् । “फुर्सदिला मान्छेहरुले आफ्नो कामबाट फुर्सद नहुने र नजान्ने तथा नबुझ्नेहरुलाई सदस्यता बनाई आफ्नो उत्पादन थमाएर भरपुर फाइदा लिईरहेका छन् । सिधा हेर्दा आफूले तिरेको पैसा बराबरको जिन्सी सामान उपलव्ध गराउने भएता पनि डिएक्सएनभन्दा कयौँ गुणा गुणस्तरीय सामानहरु त्यसको आधा मूल्यमै बजारमा खरिद गर्न सकिन्छ ।”–स्याङ्गजा सहयोग समाज युएइका महासचिव समेत रहेका पोख्रेलले भने ।

नेपालमा कुनै समय चर्चित मानिएका हर्वो इन्टरनेशनल र युनिटि ग्रुपले लाखौँ नेपालीलाई ठगेपछि झण्डै छ बर्षदेखि नेपालमा नेटवर्क मार्केटिङ्ग बन्द जस्तै छ । हालको सरकारले नेटवर्क मार्केटिङ्गलाई केही सहज रुपमा लिएको भएता पनि नियमन लगायतका कानुन बनिसकेको छैन । सरकारले आफ्नै देशको कम्तीमा २५ प्रतिशत उत्पादनलाई लिएर नेटवर्कमार्फत बजारीकरण गर्ने गरी नेटवर्क मार्केटिङ्गलाई खुल्ला गरेको भएता पनि  डिएक्सएन भने आधिकारिक रुपमा नेपालमा छैन । 

नेपालमा भएका डिएक्सएनका दलालहरुले भने उत्पादन नेपालमा उपलब्ध हुने बताएका छन् । “पिभि लगायतका कुराहरु चाँहि फाइनल भइसकेको छैन, तर उत्पादन उपलब्ध छन् । मार्केटिङ्ग गर्नेहरुले पाउने रिटर्न भने अहिले नेपालमा पाइदैन, तर अब चाँडैबाट पाइन्छ ।” डिएक्सएनका एक क्रियाशिल सदस्ले भने ।