काठमाण्डौ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले समीक्षा अवधिमा ४० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.७० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा २३ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २४ करोड रुपैयाँ थियो। 

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ५६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७१ करोड २४ रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा २०.२९ प्रतिशतले कम हो। 

समीक्षा अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो। यो हिसाबले खुद ब्याज आम्दानी ०.६३ प्रतिशतले घटेको छ। 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.९७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.८९ प्रतिशत थियो। 

एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४२ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १८ करोड ७४ लाख रुपैयाँ थियो।

खराब कर्जा बढ्नु र सञ्चालन मुनाफा र ब्याज आम्दानी घट्नुले बैंकको नाफा प्रभावित भएको देखिन्छ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ८.९९ प्रतिशतले बढेर ६ अर्ब ४४ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) थोरै घटेर ११.३४ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १४.१२ रुपैयाँ रहेको थियो। पीई रेसयो १५.६१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.७७ रुपैयाँ रहेको छ।