काठमाण्डौ । काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म संचालन भएको बैंकिङ एक्स्पो सम्पन्न भएको छ ।

बैंकिङ एक्स्पोमा खाता खोल्नेदेखि योजना पेश गर्नेसम्मका मानिसहरु आएका स्टलमा सहभागी बैंकहरुले बताएका छन् ।

आयोजक संस्थाका अनुसार तीन दिनमा करिब ६५ हजारले बैंकिङ एक्स्पो अबलोकन गरेका छन्।  

मेलामा बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, माइक्रो फाइनान्स, बीमा कम्पनी रेमिट्यान्स कम्पनी र मर्चेन्ट बैंकहरुको स्टल राखिएका थिए । त्यसबाहेक नेपाल राष्ट्र बैंक, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, धितोपत्र बोर्ड, माइक्रो फाइनान्स एशोसिएसन समेतको स्टल राखिएको थियो ।

नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन भएको एक्स्पोलाई नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसिएसन, बीमा समिति, धितोपत्र बोर्ड र नेपाल क्लियरिङ हाउसले पनि सहकार्य गरेका थिए ।

कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इंले वित्तीय चेतना अभिबृद्धि गर्नमा बैंंकिङ एक्स्पो निकै सफल भएको बताए । उनले बित्तीय चेतनाको अवश्यकतासँगै बीमा चेतनाको आबश्यकता अझ धेरै रहेको भन्दै बीमा चेतना बिस्तारका लागि आफूहरुले सहकार्य गर्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक एवं सहप्रबक्ता राजेन्द्र पण्डितले वित्तीय चेतनाका लागि आयोजना गरिएको बैंकिङ एक्स्पोले नसोचेको सफलता हासिल गरेको बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा पनि संचालन गरिने उल्लेख गरे ।

बैंकिङ एक्स्पोका संयोजक एवं मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले जुन उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो, त्यो प्राप्त भएको बताउँदै आगामी दिनमा यी कार्यक्रम देशका विभिन्न ठाउँमा लैजाने घोषणा गरे ।