काठमाण्डौ । चीनपछि आधी विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । यसको मार विश्वभरका धनाढ्यहरुमा परिरहेको छ । 

खासमा कोरोना भाइरसका कारण विश्वभरका सेयर बजारहरुमा पहिरो गइरहेको छ । यसका कारण विश्वभरका धनाढ्यहरुको सम्पत्तिमा समेत तीव्र गिरावट आइरहेको छ । 

ब्लुमबर्गको बिलेनियम इण्डेक्सका अनुसार गत साताको ५ कारोबार दिनमा विश्वमा ५०० धनाढ्यहरुको सम्पत्ति ४४४ बिलियन डलरले घटिसकेको छ । यो भनेको करिब ५२ लाख करोड नेपाली रुपैयाँ बराबर हो । 

ब्लुमबर्ग इण्डेक्सका अनुसार गत साता विश्वका तीन सबैभन्दा ठूलो धनीको सम्पत्ति ४ लाख करोडले कमी आएको छ । अमेजनका संस्थापक जेफ बेजोस, माइक्रोसफ्टका बिल गेट्स र एलविएमएच चेयरम्यान बर्नर्ड अर्नाल्टको नेटवर्थमा ३० बिलियन डलरको कमी आइसकेको छ । 

कोरोनो भाइरसको प्रभावका कारण विश्वभरका १० धनाढ्यको सम्पत्ति गत साता ११ लाख करोड रुपैयाँ बराबरले घटेको छ । ब्लुमबर्ग वेल्थ र्याङ्किङमा ८० प्रतिशतभन्दा बढी अर्बपति यो वर्ष रातो घेरामा परिसकेका छन् । यीमध्ये अधिकांशको कारोबार तथा व्यापार कोरोना भाइरसका कारण प्रभावित भएको हो । 

जापानमा फसेको क्रूजको कम्पनी कार्निवल कर्पोरेसनका चेयरम्यान मिकी एरिसनको नेटवर्थमा समेत पछिल्लो साता १ बिलियन डलरको क्षति भएको छ । यो जहाजमा कोरोना भाइरसका कारण ५ व्यक्तिको मृत्यु भइसकेको छ । 

कोरोना भाइरसकै कारण अमेरिकाको १३५ वर्ष पुरानो डाउ जोन्स इण्डस्ष्ट्रियल एभरेज इण्डेक्स(डीजीआई)मा गत शुक्रबार ११९० अंकको गिरावट रेकर्ड गरिएको छ । यो २५७६६ को अंकमा रोकिन पुगेको छ । बजारका जानकारले यसलाई इतिहासकै ठूलो गिरावट भनेका छन् । जानकारहरुले यसलाई अमेरिकी बजारमा आएको सन् २००८ को जस्तै गिरावट भनेका छन् । सन २००८ मा जीडीपीमा देखिएको लगातारको नकारात्मक संकेतहरुका कारण त्यहाँको अवस्था डामाडोल भएको थियो ।