काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो पाचँ महिनामा रेमिट्यान्स(विप्रेषण आप्रवाह) २७.६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । 

प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई रु.६१३ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख हजार ३७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७७९ र १ लाख १५  हजार  ९४८ रहेको थियो। । समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु.६६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।