लण्डनस्थित प्रसिद्ध संग्रहालय ब्रिटिश म्युजियमबाट गत ६ वर्षदेखि बेपत्ता रहेको एउटा बहुमूल्य हिराको औंठीलाई अहिले आएर हराएको भनी औपचारिक रुपमा दर्ता गरिएको छ।

एकजना अज्ञात दाताले म्युजियमलाई दान दिएको ठानिएको कार्टिएर कम्पनीद्वारा निर्मित उक्त साढे सात लाख पाउण्ड मूल्य पर्ने औंठी हराएको भनेर सन् २०११ मा नै प्रहरीमा उजुरी गरिएको थियो।

ब्रिटिश म्युजियमले आफ्नो वार्षिक हिसाबकिताब सार्वजनिक गरेका बेला उक्त औंठी हराएको र त्यसको मूल्यलाई म्युजियमको सम्पत्तिको सूचीबाट हटाइएको छ।

एकजना प्रवक्ताले भनेका छन्, आफ्नो संग्रहमा रहेका वस्तुहरु बेपत्ता रहेको पाँच वर्षपछि त्यसलाई हराएको सूचीमा राख्‍ने सो म्युजियमको नियमित प्रकृया नै हो।

ती प्रवक्ता भन्छन्, "सन् २०११ को अगस्ट महिनामा एकजना म्युजियम कर्मचारीले त्यो औंठी राखिएको ठाउँमा नभएको थाहा पाएका थिए।

"ट्रस्टीहरुको सहमतिमा तयार पारिएको नियमका अनुसार उक्त औंठी हराएको भन्ने औपचारिक निर्णय त्यसलाई फेला पार्न नसकिएको पाँच वर्षपछि मात्रै गर्ने गरिन्छ।"

उक्त औंठी हराएपछि ब्रिटिश म्युजियमले आफ्नो सुरक्षा व्यवस्था र बहुमूल्य संकलनहरुको व्यवस्थापन प्रणालीको समिक्षा गरेको छ र आफूसंग रहेका वस्तुहरुको सुरक्षामा उल्लेख्य मात्रामा लगानी गरिएको बताएको छ।

-बीबीसीबाट