काठमाण्डौ । नेपालको एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाब नेशनल बैंक(पिएनबी)ले १३२२ करोड भारु बराबरको अर्को घोटाला समेत भएको पत्ता गाएको छ । यो रकम समेत फ्रड टान्जेक्सनबाट घोटाला गरिएको पाइएको हो । यो घोटाला समेत निरव मोदी र मेहुल चौकसीसँगै जोडिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

यो रकम समेत जोड्दा पिएनबीले धोकापूर्ण कारोबारबाट १२ हजार ६ सय २२ करोड भारु गुमाएको छ । यो कुराको खुलासा बैंकले सोमबार साँझ गरेको समाचारमा जनाइएको छ । 

सोमबार मात्र बाहिर आएको नयाँ घोटाला भएको रकम पिएनबीको २०१७ को आर्थिक वर्षको खूद आम्दानी बराबरको रकम हो । पिएनबीले स्टक एक्सचेञ्जलाई यो बिषयमा समेत जानकारी गराइसकेको छ । 

पिएनबी घोटालाको खुलासासँगै अब एन्फोर्समेन्ट डाइरेक्टोरेट(इडी)ले भारत लगायत ६ मुलुकमा रहेको निरव मोदीको सम्पत्ति पहिचान गरी सिज गर्ने काम थाल्ने बताइएको छ । मुम्बईको स्पेशन कोर्टले इडीलाई यो काम गर्ने गरी आदेश जारी गरिसकेको छ । यो आदेशसँगै पिएनबीमा अरबौं घोटाला गरी विदेश भागेका निरव मोदीको विदेशमा रहेको सम्पत्ति समेत जफत गर्ने बाटो खुलेको बताइएको छ । 

यसैबीच, पिएनबी घोटाला बाहिर आएपछि जाँच एजेन्सी सीबीआईले मुम्बईको चर्चित ल फर्म सिरिल अमरचन्द मंगलदासमा छापा मारेको छ । यो छापा गत हप्ता नै गरिए पनि ढिलो गरी मात्र सूचना बाहिर आयो । पिएनबीको यति ठूलो घोटाला प्रकरण बाहिर आउनुुपूर्व निरव मोदीले यो ल फर्मलाई हायर गरेका थिए ।