काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले घटाएर प्रस्ताव गरिएको पुनर्बीमा कमिसन अस्वीकार गरेको छ। 

संघले एक विज्ञप्ति जारी गर्दै घटाइएको पुनर्बीमा कमिसन स्वीकार्य नहुने जनाएको हो। ‘नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सले अत्याधिक मात्रामा कमिसन घटाएर प्रस्ताव गरेका छन्, उक्त प्रस्ताव स्वीकार गर्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ।

संघले प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन)को पुनर्बीमा लिने हो भने ती दुवै पुनर्बीमा कम्पनीबाट पठाइएको प्रस्तावलाई तत्काल आर्थिक वर्ष २०७९–८० बमोजिम संशोधन गरी ७ दिनभित्र पठाउनसमेत भनेको छ। यसका साथै ७ दिनभित्र ती पुनर्बीमा कम्पनीले संशोधित प्रस्ताव नपठाएको खण्डमा निर्जीवन बीमा कम्पनीहरुले आफैँ जोखिम व्यवस्थापन गर्ने संघले जनाएको छ। 

पुनर्बीमा कम्पनीहरुले निर्जीवन बीमा कम्पनीहरुले पाउँदै आइरहेको पुनर्बीमा कमिसन १४ प्रतिशतसम्म घटाएर प्रस्ताव गरेका थिए। संघले उक्त प्रस्तावलाई अस्वीकार गरेको हो। 

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८०मा विविध बीमा (स्वास्थ्य बीमासहित)तर्फ ३४ प्रतिशतसम्म पुनर्बीमा कमिसन पाउँदै आइरहेका थिए। तर, ती दुवै पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१का लागि २० प्रतिशतमात्रै पुनर्बीमा कमिसन प्रस्ताव गरेका छन्। 

त्यस्तै ती दुवै पुनर्बीमा कम्पनीले घटाएर सम्पत्ति बीमामा १२.५० प्रतिशत, मोटर बीमामा १० प्रतिशत, इन्जिनियरिङ बीमामा १० प्रतिशत, विविधमा १४ प्रतिशत, समुद्री बीमामा ९ प्रतिशत, लघुबीमामा २ प्रतिशत र मोटर तेस्रो पक्ष (थर्ड पार्टी) बीमामा १२.५ प्रतिशत पुनर्बीमा कमिसनको प्रस्ताव गरेकोमा संघले ठाडै अस्वीकार गरेको छ। 

संघले विगतमा वर्षमा प्राप्त गरेको प्रत्यक्ष हिस्सामा थप जोखिम वृद्धि नभएको उल्लेख गर्दै चालु आर्थिक वर्षका लागि पठाइएको पुनर्बीमा कमिसन प्रस्तावमा आपत्ति जनाएको छ। ‘कम्पनीहरुसँग छलफल नै नगरी एकतर्फी रुपमा चालु आर्थिक वर्षका लागि पठाइएको पुनर्बीमा सम्झौताको प्रस्तावमा बिना कुनै आधार र कारणले अनावश्यक तथा आधारहीन थप सर्तहरु राखिएको पाइएको छ’, विज्ञप्तिमा उल्लेख छ। 

यसका साथै पुनर्बीमा सम्झौता एक करार रहेको उल्लेख गर्दै संघले करार एकतर्फीमात्र नहुने स्पष्ट पारेको छ।