काठमाण्डौ । नियमनकारी निकायले प्रभावकारी रुपमा काम गर्न नसक्दा धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले गर्ने वार्षिक साधारणसभा(एजीएम) वर्षेनी कर्मकान्डी मात्रै हुने गरेको छ ।

जसका कारण सर्बसाधारण सेयरधनी सूचनाको अधिकारबाट बन्चित भइरहेका छन् भने सञ्चालक समितिको प्रस्ताव सभामा सर्वस्वीकार्य हुने गरेको छ ।

पुस महिनाभित्रमा बाध्यकारी रुपमा साधारण सभा गरिसक्नु पर्ने प्रावधान रहेकाले अधिकांश कम्पनीहरुले यो महिनालाई ‘एजीएम पर्व’ को रुपमा मनाउने गरेका छन् ।

विभिन्न पत्रपत्रिकामा प्रकाशित सूचनालाई आधार मान्ने हो भने पुस महिनामा मात्रै तीन दर्जनभन्दा बढीले वार्षिक साधारण सभा बोलाएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत रहेका कतिपयले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन्  ।

अझै  बैंक, वित्तीय संस्था,उत्पादनमुलक कम्पनी तथा जलविद्युत् कम्पनीले पुस महिनाभर वार्षिक साधारणसभा गर्न सार्वजनिक सूचना आह्वान गरेका छन् ।केहि कम्पनीको त अझै साधारणसभाको टुंगो समेत छैन ।

नियामकीय व्यवस्थाअनुसार कुनै पनि आर्थिक वर्षको साधारणसभा आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्रमा गरिसक्नु पर्ने प्रावधान छ ।चालू आर्थिक वर्ष २०८०/८१ को छ महिनापनि वित्नै लाग्दा साधारणसभा बोलाउने कम्पनीको सूची दिनप्रतिदिन विस्तार भइरहेको छ ।

पुसमा जम्मा २९ दिन छन् ।अर्थात् २१ दिन पुग्ने गरि तीन दर्जनभन्दा बढी कम्पनीले साधारण सभा बोलाएका छन् ।

सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभाको जानकारी सभा हुनुभन्दा २१ दिन पहिले नै दिइसक्नुपर्ने व्यवस्था छ ।

 एकै दिन धेरै कम्पनीहरुको साधारण सभा हुँदा सेयरधनीहरु सबै कम्पनीको साधारण सभामा भाग लिनबाट वञ्चित हुने गरेका छन् । नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड,नेप्से, विद्युत् नियमन आयोग,नेपाल बीमा प्राधिकरणको बेवास्ताका कारण सूचीकृत कम्पनीहरुले केहि वर्षदेखि नै यस्तो प्रचलन निरन्तर जारी राखेको लगानीकर्ता कृष्ण सिग्देल बताउँछन् ।

उनका अनुसार कर्मकान्डी एजीएमका कारण लगानीकर्ताले सास्ती खेप्नु परिरहेको छ ।