काठमाण्डौ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पूँजी बृद्धिको योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्न ढिलाई गरिरहेका छन् ।

प्राधिकरणले यस्तो योजना पेश गर्न निर्देशन दिए पनि अधिकांश बीमा कम्पनीहरुले प्रक्रियासमेत अघि नबढाएको पाइएको छ । प्राधिकरणका अनुसार अधिकांश बीमा कम्पनीहरुले हकप्रद र बोनस सेयर जारी गरेर तोकिएको पूँजी पुर्‍याउन दिने योजना छ ।

यसअघि नै प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी पुर्‍याउन दिर्नेशन दिएको थियो । 
 

बीमा कम्पनीहरुमा पूँजी बृद्धि गर्ने योजना नै अन्योलता देखिएपछि प्राधिकरणले मर्जरमा गएका बीमा कम्पनी र क्यापिटल प्लान पेश गरेका केहि कम्पनीलाई भने हकप्रद जारी गर्न दिने निर्णय गरेको छ ।
प्राधिकरणले केहि दिनअघि मात्र मर्जरमा गएर पनि पूँजी
पुर्‍याउन नसकेका साथै पूँजी बृद्धि योजनासमेत पेश नगरेका कम्पनीको नाममा पत्रसमेत काटेको थियो । मर्जर भएर पनि पूँजी नपुगेका केहि कम्पनीले पनि हालसम्म क्यापिटल प्लान पेश नगरेको बुझिएको छ । 
बीमा कम्पनीहरुको पूँजी बृद्धिमा सहज बनाउन हकप्रद जारी गर्न दिने निर्णय गरेपनि मर्जरमा गएका वा आफैं पूँजी बृद्धि गर्ने तयारीमा रहेका केहि कम्पनीले हालसम्म पनि हकप्रद प्रस्ताव पेश नगरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
उनले भने, ‘हामीले तोकिएको चुक्तापूँजी नपुर्याउने बीमा कम्पनीहरुलाई पटक–पटक पत्र काटेर पूँजी बृद्धिको योजना पेश गर्न भनिरहेका छौं, केहि कम्पनीले मात्रै पूँजी बृद्धिको योजना पेश गरेका छन् ।’
तर क्यापिटल प्लान पेश गरेका अधिकांश कम्पनीले भने हकप्रद र बोनस सेयरबाटै तोकिएको पूँजी
पुर्‍याउन योजना पेश गरेको उनको भनाइ छ ।

‘सबै कम्पनीको पूँजी बृद्धि योजना पेश भइसकेको छैन, जति पेश भएको छ ती कम्पनीको कागजातहरु अध्ययन हुँदैछ, यो हेरेपछि मात्रै बोनस वा हकप्रद के कति जारी गर्न दिने नदिने निश्चित हुन्छ’, पौडेलले बिजशाला डटकमसँग भने । 
जीवन बीमा कम्पनीको क्यापिटल प्लान
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये तीन जीवन बीमा कम्पनीले मात्रै ५ अर्ब चुक्तापूँजी पुरयाएका छन् । नेपाल, नेशनल र हिमालयन लाइफले ५ अर्ब पूँजी पुर्‍याउँदा
अन्य कम्पनी भने पूँजी बृद्धिको तयारीमा छन् । 
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चार जीवन बीमा कम्पनीहरुको भने बोनस सेयरबाटै पूँजी बृद्धि गर्ने तयारी छ । प्राधिकरणका अनुसार चारमध्ये आइएमई लाइफले मात्रै प्रिमियम मूल्यबाट बोनस सेयर जारी गर्न पाउनेछ भने बाँकी तीन कम्पनीले पाउने अवस्था छैन । आइएमई लाइफले गत आर्थिक वर्ष र अन्यले चालू आर्थिक वर्षमा आईपीओ जारी गरेका थिए । यसकारण आइएमई बाहेक अरुले प्रिमियम रकमबाट बोनस बाँड्न नपाउने प्राधिकरणको भनाइ छ ।

 

पौडेलका अनुसार अन्य तीन कम्पनीले भने आफ्नै रिजर्भबाट एक्चुरी भ्यालुएसनपछि बोनस सेयर जारी गरेर पूँजी बृद्धि गर्नुपर्नेछ । 
त्यस्तै, यता एशियन लाइफले भने बोनस र हकप्रदबाटै पूँजी बृद्धि गर्ने तयारी गरेको छ । कम्पनीका सूचना अधिकारी होम बहादुर श्रेष्ठका अनुसार गत आर्थिक वर्षको बोनस बाँडेर अपुग पूँजीका लागि हकप्रद जारी गर्ने कम्पनीको तयारी छ । तर कम्पनीले हालसम्म पूँजी बृद्धिको योजना प्राधिकरणमा पेश भने गरेको छैन । 
साथै एलआइसी नेपालले भने
पूँजी बृद्धिको लागि कायम चुक्तापुँजीको ८८ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ । 
 

साथै मर्जरमा गएर पनि पूँजी नपुगेका तीन जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफको हकमा हकप्रद जारी गर्न पाउने भएपनि सूर्यज्योति लाइफले लाभांश वितरण गरी पूँजी बृद्धि गर्ने योजना पेश गरेको छ । 
साथै प्रभु महालक्ष्मी लाइफले भने पूँजी बृद्धिका लागि हकप्रद प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले पूँजी बृद्धि गर्न कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्न प्राधिकरणमा प्रस्ताव पेश गर्ने बताइसकेको छ । उता सानिमा रिलायन्स लाइफले भने हालसम्म पूँजी बृद्धिको योजना पेश नगरेको प्राधिकरणले बताएको छ । 
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी हालमात्रै संस्थानबाट कम्पनीमा रुपान्तरण भएकोले पूँजी बढाउन एक वर्षको समय दिइएको प्राधिकरणले बताएको छ ।

कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएकाले साधारण सेयर निष्कासन हुने छ । त्यस्तै, विदेशी लगानी रहेको मेट लाइफ इन्स्योरेन्सले भने सम्पूर्ण दायित्व नै विदेशी कम्पनीले ब्यहोर्ने प्राधिकरणले जनाएको छ । 
निर्जीवन बीमा कम्पनीहरुले यसरी बृद्धि गर्दैछन् पूँजी 
१४ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियलसमेत चार कम्पनीले मात्रै साढे २ अर्ब चुक्तापूँजी पुर्‍याएका 
छन् । 
बाँकी १० कम्पनीले तोकिएको पूँजी  पुर्‍याउन
  कसरत गरिरहेका छन् । मर्जरमा गएर चुक्तापूँजी नपुगेको कम्पनीको हकमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने हकप्रद जारी नगरी नेपाल रिइन्स्योरेन्सको सेयर बिक्री गर्ने र अपुग भएमा बोनस जारी गरेर पूँजी बृद्धि गर्ने बताएको छ ।

त्यसो त उक्त कम्पनी हकप्रद जारी नगरी अन्य माध्यमबाटै पूँजी पुर्याउने दाउमा पनि छ । त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सले भने लाभांश वितरण र अपुग रकम बराबरको बोनस सेयर जारी गरेर पूजी पुरयाउने योजना पेश गरेको प्राधिकरणले बताएको छ । उता युनाइटेड अजोडले पनि कुनै खालको योजना प्राधिकरणमा पेश गरेको छैन । 
साथै प्रभु र नेपाल इन्स्योरेन्सले भने पूँजी बृद्धिको लागि नेपाल रिइन्स्योरेन्सको सेयर बिक्री प्रक्रिया अघि बढाइसकेका छन् । नेपाल इन्स्योरेन्सले ७२ करोड ४७ लाख रुपैयाँ बराबरको नेपाल रिको सेयर बिक्री गरिसकेको छ । तर कम्पनीलाई अझै तोकिएको पूँजी
 पुर्‍याउन थप कसरत गर्नुपर्ने देखिन्छ ।

प्रभु इन्स्योरेन्सले प्राधिकरणमा रिइन्स्योरेन्सकोे सेयर बिक्री गरी पूँजी पुरयाउने योजना पेश गरेको छ । अपुग पूँजीको लागि यी कम्पनीहरुले बोनस सेयरबाट पुर्‍याउने  अनुमान छ ।
नेको इन्स्योरेन्स भने हकप्रदबाटै अपुग पूँजी
पुर्‍याउने तयारीमा छ । कम्पनीले सो सम्बन्धी योजना भने प्राधिकरणमा पेश गरेको भने छैन । कम्पनीले विशेष साधारण सभाबाट २५ प्रतिशत हकप्रद सेयर सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ ।

यता एनएलजी इन्स्योरेन्सले चाहिं हाल कायम चुक्तापूँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । 
प्राधिकरणले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई भने पूँजी बृद्धिको निर्देशन दिइसकेको र विदेशी लगानी रहेको नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरन्सले भने आफ्नो दायित्व सम्बन्धित देशको कम्पनीले नै व्यहोर्ने जानकारी दिएको छ ।