काठमाण्डौ । पूर्णिमा विकास बैंकले आफ्ना सेयरधनीलाई २ः१ को अनुपातमा अर्थात ५० प्रतिशतको दरले हकप्रद वितरण गर्ने भएको छ । घोषित हकप्रदका लागि आगामी भदौ १ गतेदेखि आवेदन दिन सकिने बैंकले जनाएको छ । 

बैंकले जारी गरेको सूचनामा उल्लेख भए अनुसार भदौ १ गतेदेखि ३५ दिनसम्म हकप्रदका लागि आवेदन दिने समय राखिएको छ । यो हिसाबले असोज ४ गतेसम्म सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

यो बैंकले १०० रुपैयाँ अंकित मूल्यका १० लाख ८ हजार ५ सय ४३ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गर्न लागेको हो । हकप्रदको बुक क्लोजको मिति साउन २० गते राखिएको छ । यसको अर्थ साउन १९ गतेसम्ममा यो बैंकको सेयरधनी भएका वा सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन योग्य मानिनेछन् । 

हकप्रदको निश्कासन र व्यवस्थापनका लागि बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमीटेड नियुक्त भएको छ । 

इच्छुक सेयरधनीले सिद्धार्थ क्यापिटलको अनामनगरस्थित मुख्य कार्यालय, पूर्णिमा विकास बैंकको मुख्य तथा सबै शाखा कार्यालयहरु र सिद्धार्थ बैंकको कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

घोषित हकप्रदको पूर्ण व्यवस्थापन पछि यो बैंकको चुक्तापूँजी बढेर ३० करोड २५ लाख पुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी २० करोड १७ लाख रुपैयाँ रहेको छ । बैंकको अधिकृत पूँजी २५ करोड रहेको छ भने बैंकमा पब्लिक प्रोमोटर सेयर स्वामित्व संरचना ७० : ३० रहेको छ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को तेश्रो त्रैमासमा ४ करोड  १९ लाख नाफा आर्जन गरेको थियो । जुलाई २८ मा यसको अन्तिम सेयर कारोबार मूल्य ७८० रुपैयाँ  रहेको छ ।