काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेडको विशेष साधारणसभाले आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका छन् । 

मर्जर प्रस्ताव पारित गर्न तीनवटै विकास बैंकले असार २७ गते विशेष साधारणसभा डाकेका थिए। शाइन रेसुंगा पूर्णिमा र भार्गवलाई एक्वायर गरेर राष्ट्रियस्तरको बलियो विकास बैंक बन्ने अभियानमा जुटेको हो । 

विशेष साधारणसभाले शाइन रेसुंगासँग विलय हुने दुवै बैंकको सेयर स्वाप अनुपात १ः०.९५ निर्धारण गरेको छ । जसअनुरुपमा अब भार्गव र पूर्णिमाको १ सय कित्ता सेयर हुनेले एकीकृत संस्थाको ९५ कित्ता सेयर पाउने छन् । 

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा १० जिल्ले बैंक हो । यसको कार्यक्षेत्र रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्यूठान, बाग्लुङ र चितवन लगायतमा बिस्तार भइसकेको छ । 

बाँकेको नेपालगञ्जमा मुख्य कार्यालय रहेको भार्गव विकास बैंक भने तीन जिल्ले विकास बैंक हो ।  बैंकका बाँके, बर्दिया र दाङमा शाखा छन्। 

तीनवटै बैंकको मर्जरपछि बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नै हुने समझदारीपत्रमा उल्लेख छ। 
एक्वीजिसनपछिपछि सञ्चालक समितीको अध्यक्षमा हाल शाइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नै निरन्तरता पाउने छन् भने प्रमुख कार्यकारी अधिकृतमा पनि शाइन रेसुङ्गाका प्रकाश पौडेल नै रहनेछन् । भार्गवका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एकीकृत संस्थाको नायव कार्यकारी प्रमुख हुने छन्।

हाल शाइन रेसुंगाको चुक्तापूँजी १ अर्ब ६२ करोड रुपैयाँ छ । पूर्णिमाको ५५ करोड छ भने भार्गव विकास बैंकको ५० करोड रुपैयाँ रहेको छ । तीनवटै कम्पनी मर्ज भएर बन्ने एकीकृत संस्थाको चुक्तापूँजी तीन अर्बको हाराहारीमा पुग्नेछ । 

यस्तै, तीनवटै बैंक गाभिएपछि बन्ने बैंकको शाखा सञ्जाल संख्या ६८ पुग्नेछ भने वासलातको आकार ५० अर्बको हाराहारीमा पुग्नेछ ।