काठमाण्डौ । पूर्णिमा विकास बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोबार असोज २७ गतेबाट सञ्चालन आउने भएको छ ।

दुवै विकास बैंकलाई प्राप्ति गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडकै नाममा एकीकृत कारोबार सञ्चालनमा आउने भएको हो । एकीकृत कारोबार सञ्चालन गर्न लागेको यो बैंकलाई नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको इजाजत दिएको छ ।

प्राप्ति प्रक्रिया टुंग्याउन तीनवटै बैंक गत असार २७ गते एकै विशेष साधारणसभा डाकेका थिए । साधारणसभाबाट पारित प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत असोज ९ गते एकीकृत कारोबारको स्वीकृति प्रदान गरेको हो । त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयबाट पनि हिजो बिहीबार स्वीकृति पाएपछि शाइन रेसुंगाले एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

प्राप्तिअघि चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको शाइन रेसुंगाको चुक्तापुँजी पूर्णिमाको ५५ करोड र भार्गवको ५० करोड रुपैयाँ जोडेपछि ३ अर्बको हाराहारीमा पुगेको छ । एकीकृत कारोबार सुरु गर्न लागेको यो बैंकको अब शाखा सञ्जाल संख्या भने ६८ वटा पुगेको छ ।

यसको केन्द्रीय कार्यालय भने रुपन्देहीको बुटवलमा रहेको छ ।