काठमाण्डौ । पूर्णिमा विकास बैंकले करिब ६७ हजार कित्ता अबितरित सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । 

यो बैंकले संस्थापक समूहतर्फको ४६ हजार २ सय ५८.०५ कित्ता र सर्वसाधारण समूहतर्फको २० हजार ६ सय ५३.७७ कित्ता अबितरित सेयर आगामी भदौ १९ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने भएको हो । बोलकबोलका लागि भदौ २६ गतेभित्र तोकिएको स्थानमा गोप्य बोलपत्र पेश गर्न सकिनेछ । 

सेयर लिलामीमा बिक्री प्रबन्धकको काम गर्ने अधिकार प्राप्त सिद्धार्थ क्यापिटल लिमीटेडका अनुसार पूर्णिमा विकास बैंक लिमीटेडले २०७४ असार १९ देखि साउन २२ गतेसम्म हकप्रदको बिक्री खुल्ला गरेको थियो । सोमध्ये बिक्री नभएको सेयर लिलामीबाट बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको हो । 

इच्छुक आवेदकले सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ र न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने बताइएको छ । 

परेका बोलपत्रहरु भदौ २८ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटलको नक्सालस्थित मुख्य कार्यालयमा खोलिनेछ । इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको मुख्य कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यो बैंकको पछिल्लो बिक्री मूल्य प्रति कित्ता ३ सय १६ रुपैयाँ रहेको छ ।