काठमाण्डौ । कोभिडविरुद्धको पूर्ण खोप (दुवै डोज) लगाएका विदेशी यात्रुलाई अमेरिकाले सोमबार आफ्नो सीमा खुला गरेको छ। योसँगै अमेरिकामा २० महिनादेखि जारी विदेशी यात्रुको आवागमनमा लागेको प्रतिबन्ध फुकुवा भएको छ। 

कोभिड महामारीका कारण पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सनु २०२० मार्चबाट विदेशी यात्रुको आवागमनमा प्रतिबन्ध लगाएका थिए। जसका कारण ३० भन्दा बढी देशका गैरअमेरिकी नागरिक प्रभावित भएका थिए। जसमा बेलायत र युरोपेली संघमा आबद्ध देशहरु पनि समावेश थिए।

पूर्ण खोप लगाएका विदेशी यात्रुहरुलाई अमेरिकाले आवागमनमा खुला गरेपछि एयरलाइन्स कम्पनीहरुलाई राहात मिल्ने विश्वास लिइएको छ। यद्यपि विदेशी यात्रुहरुले टेस्टिङ र कन्ट्याक ट्रेसिङको प्रक्रिया भने पूरा गर्नुपर्नेछ।

कोभिड संक्रमण रोकथामका लागि अमेरिकाले सन् २०२० को सुरुआतमै चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि अमेरिकाले अन्य देशबाट हुने यात्रामाथि पनि प्रतिबन्ध लगायो। 

नयाँ नियमअनुसार अब विदेशी यात्रुले अमेरिका प्रवेश गर्नुअघि पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्नेछ। यात्राको ३ दिनभित्र कोभिड नेगेटिभ रिजल्ट रिपोर्ट पेस गर्नुपर्नेछ। – एजेन्सी