काठमाण्डौ । देवः विकास बैंकले सुनसरीको इटहरी र मोरंगको पथरीमा आफ्ना २ शाखा कार्यालयहरु बिस्तार गरेको छ । 

इटहरीको धरानरोडमा स्थापित शाखाको एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे । 

बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा.सुवर्णलाल बज्राचार्यज्यूको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका साथै प्रदेश नं. १ का ग्रामीण तथा पहाडी क्षेत्रमा विस्तार गरिने शाखाहरुलाई समन्वय तथा त्यस क्षेत्रका ग्राहक वर्गहरुलाई सहजताका लागि पूर्वकै पहिलो शाखाको रुपमा इटहरीमा सेवा बिस्तार गरिएको जानकारी दिए । 

सो अवसरमा इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले इटहरी र आसपासका क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धिका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंक, कर्पोरेट प्लानिङ्ग बिभागका कार्यकारी निर्देशक भीष्मप्रसाद ढुुंगाना, नेपाल राष्ट्र बैंक विराटनगर क्षेत्रीय कार्यालयका व्यवस्थापक बिनोदराज आचार्य तथा देवःविकास बैंकका संचालक समितिका सदस्य तथा स्थानीय सर्वसाधारणको समेत सहभागिता थियो । 

यसैबीच, यो बैंकले पथरी शनिश्चरे नगरपालिकाको पथरीबजारमा अर्को समारोहको आयोजना गरी शाखा उद्घाटन गर्यो ।

पथरी शाखा कार्यालयको समेत डेपुटी गभर्नर श्रेष्ठले नै उद्घाटन गरेका थिए । त्यहाँको कार्यक्रम पनि बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा.सुवर्णलाल बज्राचार्यज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । 

सो अवसरमा पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कविता पराजुलीले तीब्र शहरीकरण भइरहेको पथरी क्षेत्रमा आर्थिक गतिविधीमा बृद्धिका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरिन्  ।

समारोहमा पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले समेत मन्तव्य व्यक्त गरेका थिए । त्यहाँ पनि सर्वसाधारणको उल्लेख सहभागिता थियो । 

बैंकले हालसम्म रु. १२.९८ अर्ब निक्षेप संकलन गरी रु. ११.८२ अर्ब कर्जा प्रवाह गरेको छ । चालुु आर्थिक वर्षभित्रै वीरगञ्ज, बुटवल, नेपालगञ्ज र कोहलपुरमा थप शाखाहरु संचालनमा ल्याइने बैंकका सीइओ श्रेष्ठले जानकारी दिएका थिए ।