काठमाण्डौ ।अर्जेन्टिनाले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ ।

त्यहाँको नयाँ सरकारले अमेरिकी डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने तयारि गरिरहेको छ । त्यहाँको सरकार अहिले प्रतिडलर ३९१ रहेको पेसोको विनिमय दर घटाएर प्रतिडलर ८०० कायम गर्ने तयारिमा छ ।

अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति ह्याभियर मिलेईले देशको आर्थिक संकट समाधानका लागि यो कदम चाल्न लागिएको बताएका छन् ।

अर्जेन्टिनाले दशककै सबैभन्दा बढी आर्थिक संकट भोगिरहेको छ । ‘यो ‘इकोनोमिक शक थेरापी’को हिस्सा हो,’ उनले सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् ।वित्त मन्त्री लुइस क्यापुटोले पनि सार्वजनिक खर्चमा भारी कटौटीको घोषणा गरेका छन्, जसमा इन्धन तथा यातायात अनुदानमा कटौती तथा प्रमुख सरकारी सम्झौता र विज्ञापन खर्च रोक्ने उल्लेख छ ।

अर्थमन्त्री क्यापुटोले अर्जेन्टिनाले इतिहासकै सबैभन्दा खराब आर्थिक अवस्थाको सामना गर्नुपरेकाले अत्यधिक मुद्रास्फीतिबाट जोगिन यो कदम उठाउनुपरेको बताए ।

उनले एक टेलिभिजन अन्तरवार्तामा केहि महिनाभित्रमा मुलुकको मुद्रास्फीति झन बढ्ने सम्भाबना देखेर यो कदम चालिएको बताएका छन् ।

हालैका दिनमा अर्जेन्टिना बढ्दो मुद्रास्फीतिसँग जुधिरहेको छ ।  मुद्रा पेसोले उल्लेखनीय ह्रास भोगिरहेको छ भने पछिल्लो वर्षको तुलनामा खुद्रा बजार १५० प्रतिशतले बढेको छ ।

अर्जेन्टिना उच्च सरकारी ऋणले थिचिएको छ ।त्यहाँका ४० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् । त्यसो त बुहपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि अर्जेन्टिनालाई निजी क्षेत्रको विकासका लागि माहोल बनाउन मद्दत गर्ने बताएको छ ।

अर्जेन्टिनाले जनवरीको अन्त्यसम्ममा आईएमएफ र निजी क्षेत्रका ऋणदाताहरूलाई ४ अर्ब डलरभन्दा बढीको कर्जा तिर्न बाँकी छ ।   

आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले अर्जेन्टिनामा स्थिरता कायम गर्न तथा देशको आर्थिक क्षमताको पुनर्निर्माण निर्माण गर्ने दिशामा सरकारले चालेको यो महत्त्वपूर्ण कदम भएको बताएकी छन् ।

सन् २०१९ यता अर्जेन्टिनाले आफ्नो मुद्रालाई कडाइका साथ नियन्त्रण गरेर कृत्रिम रूपमा बलियो बनाइराखेको थियो । कडा संघर्षपछि देशको शीर्ष पद राष्ट्रपतिमा निर्वाचित भएका मिलेईले गत आइतबार मात्रै शपथ लिएका छन् । चुनावअघि अर्जेन्टिनाको आर्थिक अवस्था सुर्धाने प्रतिवद्धता गरेका उनले देशलाई दक्षिण अमेरिकाकै राम्रो अर्थतन्त्र बनाउने मतदातासामु वाचा गरेका थिए । 
उनले सरकारी खर्च कम गर्न संघीय मन्त्रालयहरू आधा घटाइसकेका छन् । सरकारी खर्च घटाउन र बढ्दो मुद्रास्फीति दर नियन्त्रण गर्न उनले यो निर्णय गरेको बताइएको छ । 
के हो मुद्रा अवमूल्यन  ?
संसारका मुद्राहरूको अवमूल्यन हुनुको पछाडि अर्थ व्यवस्थामा भइरहेका घटनाहरू जिम्मेवार हुन्छन् । मध्यपूर्वमा इजरायल हमास युद्ध, ररिया युक्रेन युद्ध तथा आर्थिक मन्दीको कारण विश्वकै अर्थतन्त्र यतिखेर सुस्त छ ।

मन्दीका कारण संसारका आर्थिक व्यवस्थाहरूले गति लिन सकिरहेका छैनन् ।हुन त आर्थिक मन्दीको मुख्य कारण देशैपिच्छे पृथक् रहे तापनि समग्रमा भन्दा आम्दानीको तुलनामा ऋणको माध्यमद्वारा गरिएको खर्च अधिक हुनु हो ।

करिब एक वर्षयता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ पनि अवमूल्यन भइरहेको छ । यसबाट नेपाली रुपैयाँको क्रयशक्ति दिन प्रतिदिन घट्दै गएको छ । आयातित वस्तुको मूल्य अकाशिँदो छ । फलस्वरूप नेपालको मुद्रास्फीति दरमा बृद्धि भएको छ । नेपाली रुपैयाँको अवमूल्यन जुन गतिले भइरहेको छ यसको रोकथाम आन्तरिक उपायबाट हुन सक्दैन ।

बाह्य तत्व नै यो अवमूल्यनको कारक हो । अमेरिकाको फेडरल रिजर्भले अवलम्बन गरेको नीतिमा परिवर्तन नआएसम्म संसारका मुद्राहरूको अवमूल्यन भइरहने देखिन्छ ।-एजेन्सी